जथाभावी फोहर फाल्दा राजमार्ग कुरुप बन्दै

  फागुन ११, २०७६

सर्लाही, ११ फागुन  : पूर्वपश्चिम राजमार्ग क्षेत्र आफूखुसी जथाभावी फोहर फाल्दा कुरुप बन्दै गइरहेको छ । पूर्वपश्चिम राजमार्ग छेउछाउका क्षेत्र फोहरका कारण कुरुप बनेको हो । सबैभन्दा बढी फोहर पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिकाअन्र्तगत रहेको बागवानी जंगल क्षेत्र र लालबन्दीस्थित खेल मैदान छेउछाउ कुरुप बन्दै गएको छ ।

समय–समयमा स्थानीय तह, सरसफाइको क्षेत्रमा काम गर्ने संघसंस्था र सरसफाइ अभियन्ताले अरु ठाउँमा सरसफाइ अभियान चलाए पनि पूर्वपश्चिम राजमार्ग क्षेत्रमा थुप्रिएको फोहरको सफाइ गर्न सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन । लालबन्दी नगरपालिका–८ का सुनिल चौलागाईंका अनुसार जथाभावी फोहर फाल्दा राजमार्ग क्षेत्र दुर्गन्धित र कुरुप बनेको छ ।

बीस लाख पर्यटक भित्र्याउने उद्देश्यसहित सरकारले नेपाल भ्रमण वर्ष मनाइरहेको अवस्थामा यस क्षेत्रमा पर्यटक ओहोरदोहोर गर्ने मुख्य राजमार्ग नै कुरुप बन्दा अभियानमा प्रभाव पर्ने देखिएको स्थानिय रामपुकार महत्तोले बताए ।

पछिल्लो समय जिल्लाको बजार क्षेत्रका व्यवसायी र स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्ग क्षेत्रलाई फोहर फाल्नेस्थलको रूपमा प्रयोग गरिरहेका छन् । राजमार्ग क्षेत्र अति नै फोहर रहेको लालबन्दी नगरपालिका–७, का वडाध्यक्ष कुमार न्यौपानले बताए । वडाको तर्फबाट मात्रै सरसफाइ गरेर पूर्वपश्चिम राजमार्गलाई सफा राख्न नसकिने बताएका छन् ।

वडाध्यक्ष न्यौपानेले २४ सै घण्टा दौडिने सवारीका यात्रुले फोहर फाल्दा राजमार्ग छेउछाउमा फोहर थुप्रिदै गएको बताए । राजमार्गलाई सफा राख्न सबै निकाय अग्रसर भए वडाले पनि सहयोग गर्ने वडाध्यक्ष न्यौपानेको भनाइ छ ।

त्यसैगरी लालबन्दी नगरपालिकाले आफ्नो नगरअन्र्तगत पर्ने पूर्वपश्चीम राजमार्ग आसपासका अतिक्रमित घर टहरा हटाउन पटकपटक सूचना टाँस गरेको जनाएको छ । राजमार्ग नजिकै रहेका अतिक्रमित घर टहराका कारण राजमार्ग कुरुप हुँदा नेपाल सरकारले ल्याएको पर्यटन २०२० अभियानमा प्रभाव परेको लालबन्दी नगरपालिकाका नगरप्रमुख मानबहादुर खड्काले बताए ।

उनका अनुसार पूर्वपश्चिम राजमार्गमा चल्ने छोटो तथा लामो दुरीका सवारीसाधनमा फोहर व्यवस्थापनका लागि सवारीसाधन भित्रै ‘डस्टबिन’को व्यवस्था गर्न लगाउने, राजमार्ग आसपासका अतिक्रमित घरहटरा हटाउने, जथाभावी फोहर फाल्नु हुन्न भन्ने जस्ता जनचेतना जगाउने कार्यक्रम नगरपालिकाले ल्याएको नगरप्रमुख खड्काले बताए ।

आफ्नो गाउँ घर सफा हुँदा आन्तरिक तथा बाह्य पर्यटक धेरै भित्र्याउन सकिने भन्दै नगरले पटकपटक जनचेतना मूलक कार्यक्रम गरी रहेको तर स्थानीयवासीले त्यसलाई बेवास्था गरेको वडा नम्बर ८ का वडाध्यक्ष राजनकुमार श्रेष्ठले बताए । नगरले फेरी सूचना नै निकालेर अतिक्रमित घर टहरा हटाउन, फोहर व्यवस्थापन गर्न, सवारीसाधनभित्र डस्टबिनको व्यवस्था गर्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया