एमसिसी परिमार्जनसहित अनुमोदन हुन्छ : प्रचण्ड

  फागुन १०, २०७६

चितवन, १० फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताएका छन् ।

शुक्रबार एमसिसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिवेदन पेस गरेको बताउँदै यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने विश्वास दाहालले व्यक्त गरे । उनले भने, ‘एमसिसी कुनै बाइवल होइन यसलाई परिमार्जन गरेर अघि बढाइनेछ’, प्रधानमन्त्रीले यस विषयमा अमेरिकी सरकारसँग पनि कुरा गरिसक्नुभएको उनले जानकारी दिए ।

अध्यक्ष दाहालले सरकारको कामका विषयमा आजदेखि शुुरु हुने सचिवालय बैठकले समीक्षा गर्ने बताए । वर्तमान सरकारले गरेका धेरै राम्रा कामहरूलाई पनि केही नराम्रा कामले छोपेको भन्दै उनले यस विषयमा समीक्षा गरेर अघि बढ्ने बताए । फरक प्रसंगमा उनले नेकपाभित्र आन्तरिक विवाद नरहेको पनि स्पष्ट गरे ।

तपाईको प्रतिक्रिया