गुठीको जग्गा फिर्ता हुने

  फागुन १०, २०७६

रुकुमपूर्व, १० फागुन : रुकुमपूर्वको सिस्ने गाउँपालिका–८ धपेमा रहेको डिग्रे शाहीकुमारी मन्दिरको साँढे ४२ रोपनी गुठीको जग्गा मन्दिरको नाममा फिर्ता हुने भएको छ । शान्ति स्थापनापछि स्थानीयवासीलाई बिक्री गरिएको उक्त जग्गा फिर्ता हुने भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो ।

उनका अनुसार कित्ता नम्बर ३३१ को तीन हजार ८०५ वर्गमिटर क्षेत्रफलको जग्गा तत्कालीन माओवादीले स्थानीयवासीलाई बिक्री गरेको थियो । त्यसबाहेकको जग्गा भने शान्ति स्थापनापछि मन्दिरकै स्वामित्वमा आइसकेको थियो । समितिका अनुसार माओवादीको सयुंक्त जिल्ला जनसमितिले ६० हजार रुपैयाँमा उक्त जग्गा स्थानीयवासीलाई राजिनामा दिएको थियो ।

विसं २०६२ चैत २९ गते माओवादीद्वारा सञ्चालित ‘जनसत्ता’ मार्फत कित्ता नम्बर ३३१ को जग्गा स्थानीय सर्वजित भनिने जीतबहादुर पुनले खरीद गरेका थिए । पुनले जग्गा छाड्न लागेपछि मन्दिरको नाममा आउने पक्का भएको हो । मन्दिर व्यवस्थापन समितिले मुद्दा जितेरै उक्त जग्गा आफ्नो स्वामित्वमा ल्याउन लागेको मन्दिर व्यवस्थापन समितिका सचिव चुडामणि गौतमले बताए ।

उनका अनुसार आफ्नै नामको जग्गामा अर्कैको हकभोग रहेको भन्दै मन्दिर व्यवस्थापन समितिले २०७५ वैशाख २१ गते रुकुमकोट जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले २०७५ पुस ८ गते उक्त जग्गा मन्दिरकै भएकाले हकभोक पनि उसैको हुने भनेर फैसला गरिदिइएको थियो ।

अदालतले मन्दिरका नाममा जग्गा फैसला गरिदिँदासम्म पनि जग्गा स्वामित्वमा नआएपछि समितिले पटक–पटक पुनसँग छलफल गरेको थियो । आगामी जेठ १५ गतेभित्र सर्वजितले ठाउँ छाड्ने र बनाएको संरचना उठाउने सहमति भएको गौतमले बताए ।

उनका अनुसार समितिका पदाधिकारी, पुन र वडा नं–८ का जनप्रतिनिधिबीच ६ महिनाभित्र मन्दिरको जग्गा खाली गराइसक्ने गरी सहमति भएको हो । सबै जग्गा मन्दिरको स्वामित्वमा आएपछि कसरी प्रयोग गर्ने भन्ने विषयमा छलफल हुने छ । लामो समयको प्रयास पश्चात जग्गा फिर्ता हुने भएपछि आफूहरू खुशी भएको सचिव गौतमकोे भनाइ छ ।

तपाईको प्रतिक्रिया