उखु पड्काउने बढे, खेती गर्ने घटे

  फागुन १०, २०७६

पोखरा, १० फागुन : पछिल्ला वर्षमा पोखरा र आसपासमा शिवरात्रिका दिन उखु पड्काउने क्रम फेशन जस्तै बनेको छ । के बालक, के वृद्ध जो कोहीले शिवरात्रिका अवसरमा लगाइने धुनीमा तताएर उखु पड्काउने र त्यसलाई शिवजीको प्रसादका रुपमा खाने गर्दछन् । प्रत्येकले शिवरात्रिका लागि बजारबाट किनेर ल्याएको उखु घरघरमा राख्ने र साँझ शिवालय एवम् चोकचोकमा लगाइने धुनीमा तताएर पड्काउने प्रचलन नै बनिसकेको छ ।

बिहानैदेखि दिनभर शिवजीलाई दूध र जल चढाउन शिवालयहरूमा भीड लाग्ने र बेलुका मन्दिर तथा चोकचोकमा लगाइने धुनीले शिवरात्रिको आकर्षण थप बढाउने गरेको पोखराको नयाँबराजका हरिप्रसाद सुवेदी बताउनुहुन्छ । बेलुका शिवधुनी जगाएसँगै ठाउँठाउँमा उखु पड्काउने गरिएको र यसले शिवरात्रिको आकर्षणलाई अझै बढाएको उनले बताए ।

शिवधुनीमा तताएर पड्काइने उखु प्रसादस्वरुप खाएमा दाँत बलियो हुने जनविश्वासका कारण पनि उखु पड्काउने क्रम बढेको उनको भनाइ छ । उखु पड्काउने क्रम बर्सेनि बढेसँगै पोखरामा बाहिरबाट उखु भित्रने क्रम पनि बढेको छ । यस वर्ष शिवरात्रिलाई लक्षित गरी पोखरामा करीब ११० मेट्रिक टन उखु भित्रिएको कृषि बजार व्यवस्थापन समिति शान्तिवन पोखराका योजना सहायक रुपाकुमारी दाहालले जानकारी दिए ।

उनका अनुसार पोखरामा झापा, सुनसरी, गोरखा, धादिङलगायत स्थानबाट शिवरात्रिका लागि उखु आउने गर्दछ । अघिल्लो वर्ष पोखरामा ६५ मेट्रिक टनमात्र उखु भित्रिएको थियो । अघिल्लो वर्षका तुलनामा पोखरामा भित्रिएको उखुको परिमाण धेरै भएसँगै यस वर्ष यसको मूल्यमा पनि केही कमी आएको छ । अघिल्लो वर्ष ६० देखि ८० मा प्रतिलाँक्रा बिक्री भएको उखु यस वर्ष भने ४० देखि ६० सम्म बिक्री भइरहेको छ । दाहालका अनुसार पोखरामा आसपासका क्षेत्रमा उत्पादित उखुको स्थानीय उत्पादन भने आउँदैन ।

पोखरा र आसपासमा एक दशकअघिसम्म उखुको राम्रै खेती हुने गरेकामा पछिल्ला वर्षमा यसको खेती गर्ने क्रम अत्यधिक घट्दै गएको स्थानीयवासी बताउँछन् । विगतमा पोखरा आसपासका तनहुँको सेराबँेसी, कास्कीको मालेपाटन, ढोडबेँसीलगायत स्थानमा उखुको राम्रो उत्पादन हुने गरेकामा जनशक्तिको अभाव, कृषिप्रतिको अनिच्छालगायतका कारण यसको उत्पादन ह्वात्तै घटेको हो ।

सेराबेँसीका स्थानीयवासी एवम् हंशवाहिनी माविका शिक्षक ठाकुरप्रसाद खनालका अनुसार सेराबँेसीमा पछिल्ला पाँच वर्षयता उखुको व्यावसायिक खेती गर्न छोडिएको छ । पोखरासहित आसपासका क्षेत्रमा यहाँको खुदो निकै माग हुने गरेको थियो । ‘गाउँमा जनशक्ति घट्दै गएका कारण उखु खेती गर्न सर्वसाधारणले छोड्दै गएका हुन्’, उनले भने, ‘पछिल्ला समयमा सेराबेँसी र आसपासमा उखु खेती छोडेर कृषकले अन्य विभिन्न विकल्प खोज्न थालेका छन् ।’

खनालका अनुसार सेराबेंसीमा कालो, ग्याबारे, ढुस्रे आदि जातका उखु लगाइन्थ्यो । उखु पेल्ने र खुदो पकाउने याममा यहाँका स्थानीयवासीलाई भ्याइनभ्याइ हुने गरेको उनको अनुभव छ । सेराबेंसी र आसपासमा उत्पादित खुदोबाट गुड बनाउनाका साथै विवाह, व्रतबन्ध आदिमा निकै माग हुने गरेको थियो । यहाँको खुदो बिक्रीका लागि बजारको कुनै समस्या नरहेको जानकारी गराउँदै खनालले तिनताका पनि यहाँका घरघरबाटै खुदो बिक्री हुने गरेको अनुभव सुनाए ।

व्यापारीका अनुसार यस वर्ष पोखरामा भित्रिएका ग्याबारे जातको उखु प्रतिमुठा छ सयदेखि सात सयमा बिक्री हुने गरेको छ । व्यापारीले प्रत्येक मुठामा २० वटा राखेर बिक्री गर्ने गर्दछन् । अघिल्लो वर्ष भने प्रतिमुठा छ सयदेखि सात सय बिक्री भएको थियो ।

पछिल्लो एक दशकयता पोखरा र आसपासमा उखुको व्यावसायिक खेती गर्ने क्रम बर्सेनि झन् झन् घट्दै गएको कृषि विकास निर्देशनालय, पोखराका कृषि अर्थविज्ञ इन्द्रमणि लामिछानेले बताए । पछिल्ला समयमा गाउँ बस्तीहरूमा बढ्दै गएको कृषिप्रतिको अनिच्छा एवम् काम गर्ने जनशक्तिको अभाव आदिका कारण यसको खेतीमा ह्रास आएको हुनसक्ने उनको भनाइ छ ।

‘युवाहरूको विदेशिने क्रमसँगै भित्रन थालेको विप्रेषणका कारण पनि यो खेती कम हुँदै गएको छ’, उनले भने । व्यावसायिक उखु खेतीको विकास गर्दै यसका माध्यमबाट रोजगारीको खोजीमा विदेशिएका युवालाई स्वदेशमा नै रोजगारीको सिर्जना गरी आयआर्जनमा जोड्न सकिने लामछानेले बताए ।

तपाईको प्रतिक्रिया