निवर्तमान सभामुख महराद्वारा आभार प्रकट

  फागुन ०५, २०७६

काठमाडौँ, ५ फागुन : सङ्घीय संसद् सचिवालयका कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोपमा जिल्ला अदालत काठमाडौँबाट निर्दोष ठहरिएपछि निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्ना बारेमा चासो व्यक्त गर्नेप्रति आभार प्रकट गर्नुभएको छ ।

अदालतको आदेशसँगै डिल्लीबजार कारागारबाट रिहा भएलगत्तै आज एक वक्तव्य जारी गर्दै उहाँले आफूमाथि लगाइएको आरोप गलत सावित भएको र अदालतले निर्दोष ठहर गर्दै सफाइ दिएको भन्दै आभार व्यक्त गर्नुएको हो ।

“यस क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्य, मित्र, मेरो पक्षमा वकालत गर्ने कानून व्यवसायी र राजनीतिक व्यक्तित्वप्रति आभार प्रकट गर्दछु”, महराद्वारा जारी वक्तव्यमा भनिएको छ ।

एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा आफ्नो पहिलो र उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै उहाँले नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता गौरवपूर्ण रहिरहने टिप्पणी गर्नुभएको छ । संसद् सचिवालयको कर्मचारी माथि दुव्र्यवहार गरेको आरोप लागेपछि तत्कालीन सभामुख महराले गत असोज १४ गते पदबाट राजीनामा दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया