नवनियुक्त कानून मन्त्रीद्वारा पदभार ग्रहण

  फागुन ०५, २०७६

काठमाडौं, ५ फागुन : नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहांफेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएपछि सिंहदरबारमा रहेको मन्त्रालयमा उहाँले आजैै पदभार ग्रहण गर्नुभएको हो ।

पदबहालीका क्रममा मन्त्री तुम्बाहांफेले संविधानले व्यवस्था गरेका मौलिक हक कार्यान्वयन गर्न आवश्यक पर्ने नियमावली आगामी चैत मसान्तभित्र मस्यौदा गरिसक्नेसम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुभएको थियो ।

सो अवसरमा उहाँले कानून मन्त्रालयले स्थिरता प्राप्त गरेको प्रतिक्रिया दिनुभयो । यसअघि तुम्बाहांफे प्रतिनिधिसभाको उपसभामुख हुनुहुन्थ्यो ।

विसं २०२० मा जन्मनुभएका नवनियुक्त कानूनमन्त्री तुम्बाहांफेले ‘नेपालको राजनीतिमा महिला आन्दोलन’ विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको छ । उहाँले एक दशक त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यापकका रूपमा प्राध्यापन गर्नुभएको थियो ।

नवनियुक्त मन्त्री फुयाँलद्वारा पदभार ग्रहण
वाग्मती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले आज अपराह्न मन्त्रालयमा जानु भई पदभार ग्रहण गर्नुभएको छ ।

उहाँले संक्षिप्त कुराकानी गर्दै प्रदेशको सुशासनको प्रवद्र्धन गर्न र विकासका पूर्वाधारलाई तीव्रताका साथ गति प्रदान गर्न आफू इमान्दारीपूर्वक क्रियाशील हुने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया