रामपुरमा विद्यार्थीबीच झडप, एक घाइते

  फागुन ०५, २०७६

चितवन, ५ फागुन : कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा आज विद्यार्थीबीच झडप हुँदा एकजना घाइते भएका छन् । घाइते हुनेमा अनेरास्ववियुका केन्द्रीय सदस्य देवप्रसाद पाठक रहनुभएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पाठकको टाउकोमा चोट लागेको छ । उहाँको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । आक्रमण गरेको अभियोगमा प्रहरीले रामपुरबाट तीनजना विद्यार्थीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङका अनुसार पक्राउ पर्नेमा प्रेम घर्ती, सबित सुवेदी र अभिषेख न्यौपाने रहेका छन् । तत्कालीन अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुबीच झडप भएको हो । पाठक तत्कालीन अनेरास्ववियुका जिल्ला अध्यक्ष हुनुहुन्छ । पक्राउ परेकाहरू अखिल क्रान्तिकारी निकट रहेको जनाइएको छ ।

रामपुरमा झडपपछि पार्टीले बेवास्ता गरेको भन्दै विद्यार्थीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला कार्यालयमा समेत तोडफोड गरेको प्रहरीले जनाएको छ । यही फागुन १ गते जनयुद्ध दिवस मनाउने विषयमा दुई संगठनबीच विवाद भएपछि पटकपटक झडप हुँदै आएको छ । विश्वविद्यालयको आवासमा बस्ने ती संगठनका विद्यार्थी बाहिर बसेका छन् ।

विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायको आजको स्नातक मत्स्य विज्ञानको तेस्रो र सातौँ सेमेस्टरको परीक्षा गर्ने वा सार्ने भन्ने विषयमा विद्यार्थीबीच विवाद भएको थियो । विवादकै बीचमा विश्वविद्यालयले परीक्षा सञ्चालन गरेको छ । परीक्षामा ३३ विद्यार्थीमध्ये ३० जना सहभागी भएको संकायका निमित्त डिन ईश्वरचन्द्र प्रकाश तिवारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया