केजरीवालद्वारा दिल्लीको मुख्यमन्त्रीमा तेस्रो कार्यकालको शपथ ग्रहण

  फागुन ०५, २०७६

नयाँ दिल्ली, भारत, ४ फागुन : आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले आइतबार तेस्रो पटक दिल्लीको मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएको छ ।

दिल्लीको रामलिला मैदानमा आयोजित सार्वजनिक कार्यक्रममा भ्रष्टचारविरोधी नेता केजरीवालले पद तथा गोपनियताको शपथ लिनुभएको छ । उहाँलाई दिल्लीका उपराज्यपाल अनिल बैजलले शपथ ग्रहण गराउनुभएको छ ।

आम आदमी पार्टीले शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्ता गरेको तर उहाँ आफ्नो व्यस्थताका कारण उपस्थित हुन नसकेको बताउनुभएको छ । प्रधानमन्त्री मोदी आफ्नो संसदीय क्षेत्र वाराणासी पुग्नुभएको थियो ।

शपथ ग्रहणमा अन्य राज्यका मुख्यमन्त्रीलाई भने निम्ता नपठाइएको आपले जनाएको छ । सभामा दिल्लीका सात जना सांसद, सबै निगम पार्षदहरू, भारतीय जनता पार्टी (भाजपा) र भारतीय काँग्रेसका प्रदेश अध्यक्षलाई आमन्त्रण गरिएको थियो ।

केजरीवालले दिल्लीका जनतालाई शपथ ग्रहणमा उपस्थित हुन मुख्यमन्त्रीले अपिल गरेअनुसार समारोहमा ठूलो संख्यामा सर्वसाधारण उपस्थित थिए । शपथ ग्रहणसँगै मुख्यमन्त्री केजरीवालले आफ्ना मतदाता तथा शुभेच्छुक सबैलाई सम्बोधन गर्नुभएको छ । उहाँले आफूलाई फेरि एकपटक जिम्मेवारी दिएको भन्दै दिल्लीवासीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

यसैबीच, प्रतिपक्षी नेताहरूले दिल्लीमा केही निः शुल्क सेवा उपलब्ध गराइएकोमा गरेको आलोचनाप्रति हल्का टिप्पणी गर्दै यो दिल्लीवासीलाई दिएको मायाको उपहार भएको बताउनुभयो ।

दिल्लीमा महिलालाई निःशुल्क बिजुली, पानी र बस सवारीबारे विपक्षीद्वारा उठाइएका प्रश्नप्रति उहाँले भन्नुभयो,“दिल्लीका नागरिकले आम आदमी पार्टी (आप) लाई गरेको प्रेमको बदलामा ती सुविधा दिइएको हो ।”

उहाँले भन्नुभयो, “केही व्यक्ति भन्छन् कि केजरीवालले सबै चीज निःशुल्क दिइरहेछन् । प्रकृतिले विश्वका सबै बहुमूल्य चीजहरू निःशुल्क दिएको छ । आमाको प्रेम होस् वा बुबाको आशीर्वाद होस् अथवा श्रावणकुमारको समर्पण सबै निःशुल्क थिए । केजरीवालले आफ्ना नागरिकलाई माया गर्छन् त्यसैले केही सेवा निः शुल्क उपलब्ध गराइएको हो ।

फेब्रुअरी ८ मा भएको दिल्ली विधानसभा चुनावको नतिजामा आपले ६२ सिट र भाजपाले आठ सिट जितेको थियो । सन् २०१५ जस्तै काँग्रेसले यो चुनावमा पनि खाता खोल्न सकेन ।

अरविन्द केजरीवालले सन् २०१३ मा काँग्रेसको समर्थनमा ४९ दिन सत्तामा रहेपछि राजीनामा दिनुभएको थियो । त्यसपछि सन् २०१५ मा भएको चुनावमा आम आदमी पार्टीले ७० मध्ये ६७ सिट जित्दा भाजपाले जम्मा तीन सिटमा विजय हासिल गरेको थियो ।

तपाईको प्रतिक्रिया