प्रदेश २ नामकरण : सबै दल मधेश प्रदेश नजीक

  फागुन ०५, २०७६


धनुषा, ४ फागुन : प्रदेश नं २ को नामकरणको विषयमा सबै राजनीतिक दल मधेश प्रदेश नजीक पुगेको छ । गत भदौमा दलहरू नाम र राजधानीका विषयमा गरेका प्रस्तावमाथि सहमतिका क्रममा रहेका दलहरू नामको विषयमा मधेश प्रदेश नजीक पुगेका छन्।

प्रदेशको नामकरणसम्बन्धी प्रस्तावमा सत्तारूढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले मधेश प्रदेश, प्रमुख प्रतिपक्षी नेकपाले जानकी प्रदेश, नेपाली काँग्रेसले मिथिला भोजपुरा र केहीले मध्यमधेश दर्ता गराएका छन् । दलहरूले गरेको प्रस्तावमा सहमति जुटाउन सभामुख सरोजकुमार यादवको संयोजकत्वमा रहेको समितिले गरेको पटकपटकको छलफलपछि दलहरू मधेश प्रदेश नजीक पुगेका छन् ।

सबै दलका संसदीय दलका नेता समेतको सहभागितामा आज सम्पन्न समितिको बैठक नामकरणको विषयमा सहमति नजीक पुगेको नेताहरूले प्रतिक्रिया दिनुभएको छ । बैठकमा सत्तारूढ समाजवादी पार्टी र राजपा मधेश प्रदेश हुनुपर्नेमा अडिग रहे पनि सहमतिका लागि भन्दै नेकपाले जानकी मधेश र नेपाली काँग्रेसले मिथिला मधेश नाम अघि सारेका छन् ।

मुख्यमन्त्री एवं समाजवादी पार्टी संसदीय दलका नेता लालबाबु राउतले नाम टुंग्याउन नसकिए पनि दलहरू सहमति नजीक पुगेको प्रतिक्रिया दिनुभएको छ । उहाँले मुलुकमा संघीयता स्थापना गराउने मधेश आन्दोलनको सम्मानका लागि भए पनि मधेश प्रदेश हुनुपर्ने बताउनुभयो ।

राजपा संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले नेकपा र नेपाली काँग्रेससमेत मधेशलाई स्वीकार्य गरेकामा धन्यवाद दिनुहुँदै अगामी बैठकले टुंगो लाग्ने विश्वास व्यक्त गर्नुभयो । प्रमुख प्रतिपक्षी नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले आफूहरू सहमतिका लागि लचक भएर जानकी मधेशको प्रस्ताव अघि सारेको बताउँदै सत्तापक्षलाई समेत लचिलो हुन आग्रह गर्नुभएको छ ।

त्यसैगरी नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले पनि सहमतिका लागि मिथिला मधेश नाम अघि सारेको भए पनि सत्तापक्ष मधेशबाहेक केही सुन्नै नचाहेकाले आजको बैठक निष्कर्षविहीन भएको बताउनुभयो । उहाँले सहमतिका लागि आफूहरू सदैव तयार रहेको प्रतिक्रियासमेत दिनुभएको छ ।

तपाईको प्रतिक्रिया