डोटी, ३ फागुन : डोटी चेम्बर अफ कमर्सले जिल्लाको दिपायलमा आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक व्यापारिक कृषि तथा पर्यटन महोत्सवमा प्याराग्लाइडिङ मुख्य आकर्षण बनेको छ ।
‘सेतीको हीरा खप्तडको मोती, व्यापार पर्यटन र जलस्रोतबाट बनाउँछौँ समुन्नत डोटी’ भन्ने नारासाथ भम्रण वर्ष २०२० लाई सफल पार्न आयोजना गरिएको महोत्सवको अवलोकन गर्न आउने अधिकांश आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका रूपमा उक्त प्यारागलाइडिङ उडान रहेको छ ।
दिपायलको खुल्लेक डाँडाबाट प्याराग्लाइडिङको उडान गरिन लागिएकाले हिजो÷आज दैनिक १० देखि १२ जनाले प्याराग्लाइडिङ उडान गर्ने गरेको चेम्बर अफ कमर्सका सचिव तेजबहादुर डुम्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “प्याराग्लाइडिङबाट सेती नदीको मनोरम दृष्यावलोकन गर्नुका साथै पूरै दिपायल, राजपुरका मनोरमस्थल आकाशबाट खुलारूपमा देख्न सकिन्छ ।”
प्याराग्लाइडिङ गर्न चेम्बरले पोखराबाट दुईवटा प्याराग्लाइडिङ र प्यारापाइलट झिकाएको छ । दिपायलमा पोखाराबाट मगाइएको बाबा योगी एड्भेन्चर क्लबले दैनिकरूपमा प्याराग्लाइडिङ उडान गरेको छ । प्यारापाइलट रोशन बिसी, नवीन बिसी र रमेशनाथ योगी हुनुहुन्छ ।
प्याराग्लाइडिङ उडान शुरु भएपछि उडान हेर्न आउनेको घुइँचो लाग्ने गरेको स्थानीय तेजु ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, “डोटीका लागि प्याराग्लाइडिङ नयाँ भएकाले अधिकांशको रोजाइ र हेराइ बनेको छ ।” डोटी प्याराग्लाइडिङलाई उपयुक्त भएकाले कुनै समस्या नहुने प्यारापाइलट रमेशनाथ योगीले बताउनुभयो । उहाँले भन्नुभयो, “भौगोलिक बनावटदेखि प्याराग्लाइडिङका लागि चाहिने हावापानी मिलेकाले उडान गर्न राम्रो छ ।”
उडानलाई नितरन्तरता दिन स्थानीय तह अग्रसर हुनुपर्ने स्थानीय व्यापारी रामबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “चेम्बरले प्याराग्लाइडिङको शुरुआत गरेपनि यसको निरन्तरताका लागि स्थानीय तहले अग्रसरता देखाउनुपर्छ ।” जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले डोटीका पर्यटकीयस्थलको अवलोकन गर्नका लागि प्याराग्लाइडिङ सजिलो माध्यम बन्ने छ, यस्को निरन्तरता दिन सक्नुपर्छ र दिनुपर्छ भन्नुभयो ।
दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले डोटीमा व्यावसायिक प्याराग्लाइडिङ उडान शुरू गर्नका लागि नगरपालिकाको तर्फबाट विषेश गरिने बताउनुभयो । अन्य स्थानीयतहमा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन तथा प्याराग्लाइडिङ गर्न परीक्षण उडानलाई पहल गरिने नगरप्रमुख मलासीले जानकारी दिनुभयो ।
साहसिक खेलकारूपमा प्याराग्लाइडिङ उडानले जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहज हुनुका साथै यहाँका पर्यटकीय, धार्मिकस्थलको देश विदेशमा प्रचारप्रसार गर्न सकिने काँग्रेस नेता तथा पूर्व दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख घनश्याम पाठकले बताउनुभयो ।