संरक्षित क्षेत्रमा पर्यटकको संख्यामा वृद्धि

  फागुन ०३, २०७६

काठमाडौं, ३ फागुन : पछिल्लो समय नेपालका संरक्षित क्षेत्रमा घुम्ने पर्यटकको संख्यामा पनि वृद्धि भएको छ । उक्त अवधिमा जम्मा नौ लाख ६३ हजार २६३ पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेका छन् भने त्यसमध्ये बाह्य पर्यटकको संख्या पाँच लाख ८३ हजार ५८ रहेको छ ।

त्यस्तै वनस्पति उद्यान र सदर चिडियाखानामा गरी २१ लाख ५० हजार आगन्तुकको संख्या रहेको मन्त्रालयले जनाएको छ । मुलुकको कूल क्षेत्रफलको २३.३९ प्रतिशत संरक्षित क्षेत्रले ओगटेको छ ।

नेपालमा भित्रिने विदेशी पर्यटकमध्ये ६० प्रतिशतभन्दा बढीले संरक्षित क्षेत्र र सामुदायिक वनमा भ्रमण गर्ने गरेको पाइएको छ । नेपालमा हालसम्म १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष, छ संरक्षण क्षेत्र र १३ मध्यवर्ती क्षेत्र घोषणा भई संरक्षण तथा व्यवस्थापनका कार्य सञ्चालन हुँदै आएका छन् ।

यसैगरी २०७१ मा बाघको संख्या १९८ रहेकोमा २०७५ सालमा २३५ हुन पुगेको छ । सरकार गठनयताको अवधिमा विकास निर्माणका ८९ आयोजनालाई कूल ७७५.३ हेक्टर वनक्षेत्र उपलब्ध गराइएको र सन् २०२३ सम्ममा करिब रु पाँच अर्ब बराबरको कार्बन व्यापारवाट आम्दानी हुने गरी मन्त्रालयले तयारी गरेको जनाएको छ ।

विकास निर्माणका आयोजनाको ६३ वातावरणीय प्रभाव मूल्याङ्कन र १२३ कार्यसूची स्वीकृत गरिएको छ । मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका आव २०७५÷०७६ मा पाँच हजार ६७ घटनाका लागि रु आठ करोड ९० लाख राहत वितरण गरिएको छ भने ११५.२३ किमी विद्युतीय तारबार निर्माण र ४५ किमी मर्मत गरिएको छ ।

गत आवमा ५८३ हेक्टर घाँसे मैदान व्यवस्थापन, रु तीन अर्ब ८६ करोड राजश्व सङ्कलन गरिएको, मन्त्रालयअन्तर्गतका विभिन्न कोष, समिति, संस्थानबाट रु एक अर्ब ३८ करोड आम्दानी भएको, एक करोड ९६ लाख ८० हजार श्रमदिन (७६,८७५ पूर्ण रोजगारी) बराबरको रोजगारी सृजना गरिएको मन्त्रालयले जनाएको छ । यस अवधिमा एक हजार ५१० वनमा आधारित लघु तथा साना उद्योग स्थापना गरिएको छ ।

वर्तमान सरकार गठनयता राष्ट्रिय वन नीति, २०७५, राष्ट्रिय वातावरण नीति २०७६, राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६, स्वीकृत गरिएको छ । वन ऐन २०४९, साइटिस ऐन, २०७३, वातावरण संरक्षण ऐनको २०५३ को संशोधन गरिएको भने चार निर्देशिका परिमार्जन, चार नयाँ कार्यविधि स्वीकृत गरिएको प्रवक्ता ढुङ्गानाले जानकारी दिनुभयो ।

मन्त्रालयले यस अवधिमा दुई हजार ३४४ हेक्टरभन्दा बढी जमिनको वन अतिक्रमण हटाई वनको पुनःस्थापना गरेको जनाएको छ । पछिल्लो वन सर्वेक्षणअनुसार वन र बुट्यान क्षेत्र गरी नेपालमा ६६ लाख १० हजार हेक्टर वन क्षेत्र (मुलुकको कूल भू–भागको ४४.७४ प्रतिशत) रहेको छ ।

तपाईको प्रतिक्रिया