बाजुरामा भाइरल ‘इन्फुल्जा ए भाइरस’ फैलिएको पुष्टि

  फागुन ०२, २०७६

बाजुरा, २ फागुन : जिल्लाको हिमाली र स्वामिकात्र्तिक खापर गाउँपालिकामा देखिएको ज्वरोको संक्रमण इन्फुल्जा ‘ए’ भाइरस रहेको पुष्टि भएको छ । चार जनाको ल्याब नमूना परीक्षणपछि रुघाखोकी र ज्वरोको संक्रमण इन्फुल्जा ए भाइरस रहेको प्रमाण भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षणले ज्वरो र रुघाखोकीको संक्रमण इन्फुल्जा ए भाइरसकै कारण भएको देखिएको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभयो । संक्रमण हप्ता दिनसम्म हिमालीको बोल्डिक र स्वामिकात्तिकको जोरूपमा व्यापकरूपमा फैलिएको थियो । जुन संक्रमणले करिब एक हजार २०० बढी बिरामी परेका थिए भने स्वास्थ्यकर्मीले एक हप्तामा एक हजार १७० को उपचार गरेको थियो । संक्रमणकै कारण दुईको ज्यानसमेत गएको थियो ।

परीक्षण गरिएका चारमध्ये दुई जनालाई इन्फुल्जा ए भाइरस देखापरेको र एकलाई इन्फुल्जा बी भाइरस पुष्टि भएको वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तको भनाइ छ । यो भाइरलले मानिसको शरीरमा एक्कासी आक्रमण गर्ने गरेको छ । यही भाइरसले सन् २००९ मा विश्वमा नै महामारीको रुप लिएको थियो ।

संक्रमणले महामारीको रुप लिएपछि गाउँपालिकाभित्रका गाउँ–गाउँमा पुगेर चिकित्सकसहितको टोलीले उपचार गरेको र हाल पूर्णरूपमा नियन्त्रणमा आइसकेको हिमालीका स्वास्थ्य संयोजक राज भण्डारीले जानकारी दिनुभयो । ल्याब परीक्षण प्रतिवेदनपछि अर्कोपटक देखापरे उपचारमा सजिलो हुने र स्थानीयवासीलाई पनि समयमै सचेत गराउन सहयोग पुग्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया