अमूर्त कुराले क्रान्ति हुँदैन : मुख्यमन्त्री गुरुङ

  फागुन ०२, २०७६

स्याङ्जा, २ फागुन : गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका गण्डकी प्रदेश इञ्चार्ज पृथ्वी सुब्बा गुरुङले अमूर्त कुरा गरेर क्रान्ति नहुने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी स्याङ्जाद्वारा २५ औँ जनयुद्ध दिवसको सन्दर्भमा जनआन्दोलन तथा जनयुद्धका शहीदको स्मृतिमा समाजदोन्मुख जनताको जनवाद विषयक प्रशिक्षण कार्यक्रममा मुख्यमन्त्री गुरुङले नेत्रविक्रम चन्द विप्लवले क्रान्ति गर्छु भन्नुको कुनै अर्थ नरहेको बताउँदै देशमा सामान्ति राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भइसकेको अवस्थामा क्रान्तिका अमूर्त कुरा गरेर समय खेर नफल्न आग्रह गर्नुभयो । देशको अवस्था र माटो सुहाउँदो कामले मात्रै सफ हुन सकिने बताउँदै अन्य मुलुकको शैलीमा क्रान्ति गर्छु भन्दै हिँडेर सफल हुन नसकिने बताउनुभयो ।

कम्युनिष्ट पार्टीले जनतामा विश्वास गर्ने भएकाले नै अहिलेको यो अवस्थामा आएको बताउँदै नेपाल कम्युनिष्ट पार्टीले देशको माटो र जनताको चाहानाअनुसार नै काम गर्दै आएकाले जनताको नेकपाप्रति आकर्षण बढेको मुख्यमन्त्री गुरुङको भनाइ थियो । नेपालमा पहिला कम्युनिष्ट पार्टी विभिन्न समयमा विभाजन हुँदै गएकाले अन्य शक्तिले फाइदा उठाएको बताउँदै एमाले र एकीकृत माओवादीको एकताले कम्युनिष्ट फुट्न मात्रै होइन जुट्न पनि जानेका छन् भन्ने सन्देश दिन सफल भएको बताउँदै देशमा अब कम्युनिष्ट पार्टीको विकल्प नभएको बताउनुभयो । कम्युनिष्टले बहुदलीय प्रतिस्पर्धामा विश्वास गर्दैनन् भन्नेलाई नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धाबाट आफ्नो कुरा अगाडि बढाउन सकिन्छ भन्ने सन्देश दिन नेपालका कम्युनिष्ट पार्टी सफ भएको बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले विप्लवले जति चर्का कुरा गरे पनि ढिलो चाँडो उनले लिएको बाटो त्याग्नुको विकल्प नभएको उहाँको भनाइ थियो । शान्तिपूर्ण आन्दोलन र जनयुद्धले नै अहिलेको अवस्था आएको बताउँदै अबको जनताको चाहाना भनेको स्थिर सरकार र विकास भएकोले नै दुई ठूला कम्युनिष्ट पार्टी एकीकरण भएको गण्डकी प्रदेश इञ्चार्जसमेत रहनुभएका मुख्यमन्त्री गुरुङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया