कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३०० नाघ्यो

  फागुन ०१, २०७६

हुबेइमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु
बेइजिङ, १ फागुन : कोरोना भाइरसबाट बढी संक्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको उहानमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु भएको बताइएको छ ।

हुबेइ प्रान्तको उहानबाट गत वर्षको अन्त्यतिरबाट यसको संक्रमण शुभएको यो भाइरसबाट हुने संक्रमणलाई हालैमात्र वैज्ञानिकले ‘कोभिड–१९’ नाम दिएका छन् ।

प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा मृत्यु हुनेको संख्यामा पनि वृद्धि भइरहेको बताइएको छ । पछिल्ला केही दिनमा नयाँ संक्रमण भएका मानिसको संख्यामा ठूलो मात्रामा वृद्धि भएको बताइएको छ ।

उहानमा मात्र थप १४ हजार ८४० जनामा यस भाइरसको संक्रमण भएको पुष्टि भएको पछिल्लो समाचारमा जनाइएाको छ ।

बुधबार भएको यस मृत्युसँगै मृतकको कुल संख्या बुधबारसम्म एक हजार ३५० पुगेको चिनियाँ अधिकारीले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार पछिल्लो समयमा निको भएर फर्र्किएका बाहेक हाल संक्रण भइ उपचार गराइरहेका बिरामीको संख्या झन्डै ६० हजार पुगेको छ ।

यस संक्रमणको उपचारका क्रममा कुनै कमी हुन नदिने चिनियाँ कम्युनिस्ट पार्टीले जनाएको छ । उक्त पार्टीले हुबेइ प्रान्तका सचिवलाई हटाएको बताएको छ ।

उक्त पार्टीले त्यस स्थानमा चीनको सांघाइका पार्टी प्रमुखलाई पठाएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । केही दिनअघिमात्र पनि सरकारले स्वास्थ्य सेवाबाट केही अधिकारीलाई पदमुक्त गरेको जनाइएको थियो ।

स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार हाल चीनमा संक्रमित भएका बिरामीमध्ये करिब ८० प्रतिशत हुबेइ प्रान्तका मात्र रहेको नयाँ तथ्य पनि पत्ता लागेको बताइएको छ ।

यस संक्रमणबाट उहानमा ज्यान गुमाएका २४२ जनामध्ये १३५ मा त्यसरी नै रोगको पुष्टि गरिएको थियो ।

हालसम्म यस प्रान्तमा मात्र संक्रमण भएका व्यक्तिको संख्याया ४८ हजार २०६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

उता विश्व स्वास्थ्य संगठनले भने चीनमा देखापरेको उक्त प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने धारणा राखेको छ । जेनेभामा आयोजित एक कार्यक्रममा उक्त संगठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यसबारे भ्रम फैलाउँदा त्यसले प्रकोप न्यूनीकरणमा असर पर्ने भन्दै यस प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने बताउनुभएको हो ।

चीनबाट आएका आगन्तुकलाई अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध जारी
त्यस्तै कोरोना भाइरसबाट नराम्रोसँग प्रभावित चीनको मुख्य भू–भागबाट आउने यात्रुलाई अस्ट्रेलिया प्रवेशमा लगाइएको प्रतिबन्ध कम्तिमा अएक हप्ताका लागि बढाउने अस्ट्रेलिया सरकारले घोषणा गरेको छ । पछिल्लो समय चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीव्ररुपमा बढेपछि अस्ट्रेलियाले उक्त निर्णय गरेको जनाएको छ ।

प्रधानमन्त्री स्कट मोरिसनले अस्ट्रेलियालीलाई कोरोना भाइरसको जोखिमबाट जोगाउन अकेही हप्ता चीनको मुख्य भूभागबाट आउने आगन्तुकमाथि रोक लगाइएको जानकारी दिनुभयो । उहाँले यो प्रतिबन्ध भाइरसको परिस्थितिमा विचार गरेर हप्तैपिच्छे निर्णय लिइने बताउनुभयो ।

यस निर्णयले अष्ट्रेलियाका पर्यटन व्यवसायीलाई ठूलो चोट पुगेको छ । चिनियाँ पर्यटकको हिस्सा घटेपछि व्यवसायमा ठूलो नोक्सानी भएको छ । साथै नयाँ शैक्षिक वर्षका लागि अष्ट्रेलिया फर्कने आशा गरिरहेका हजारौं चिनियाँ विद्यार्थी अलपत्र परेका छन् ।

नयाँ कोरोना भाइरसबाट चीनमा मृत्यु हुने र संक्रमित व्यक्तिको संख्या नाटकीयरुपमा बढेको छ । पछिल्लो विवरणमा चीनमा मात्र एक हजार ३५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने ५० हजारभन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ ।

प्रधानमन्त्री मोरिसनले भन्नुभयो, “हाम्रो पहिलो कर्तव्य हरेक अष्ट्रेलियालीलाई सुरक्षित राख्नु हो ।”

तपाईको प्रतिक्रिया