टर्कीको आक्रमणमा ५५ सिरियाली सैनिक मारिए

  फागुन ०१, २०७६

अंकारा, १ फागुन : टर्कीका सुरक्षाकर्मीहरूले सरियाको दक्षिणपूर्वी प्रान्त इदलिबमा गरेको आक्रमणमा ५५ सिरियाली सुरक्षाकर्मीको मृत्यु भएको छ ।

सिरियाको दक्षिणपूर्वी प्रान्त इदलिबमा भएको घटनामा परी उनीहरू मारिएको टर्कीका अधिकारीले बिहीबार जानकारी दिएका छन् ।

“हाम्रा स्रोत तथा संयन्त्रहरूमार्फत हामीलाई प्राप्त पछिल्लो जानकारी अनुसार इदलिब क्षेत्रमा भएको पछिल्लो घटनामा परी कम्तीमा ५५ जना मारिएका छन्,” टर्कीको रक्षा मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

मारिएका र नियन्त्रण गरिएका कुरालाई टर्कीका अधिकारीहरूले ‘निष्प्रभावित पारिएको’ भन्ने शब्दको प्रयोग गरेका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सिरियाली सेनाले निहुँ खोजेमा प्रतिआक्रमण गर्ने चेतावनी दिएको भोलिपल्ट यो घटना भएको हो ।

आफ्नो देशका सुरक्षाकर्मीहरूलाई सिरियाली सुरक्षाकर्मीले आक्रमण गरेमा वा दुःख दिएमा आफूहरूले पनि आक्रमण गर्ने उहाँले चेतावनी दिनुभएको थियो ।

टर्कीका सुरक्षाकर्मीविरुद्ध फेरी अर्को आक्रमण भए कुनै संकोचबिना टर्कीका सुरक्षाकर्मीहरूले सिरियाका सुरक्षाकर्मीहरूलाई आक्रमण गर्ने उहाँको भनाइ थियो ।

सिरियाको इदलिब प्रान्तमा केही हप्तादेखि दुई देशका सुरक्षाकर्मीबीचमा विवाद तथा संघर्ष चलिरहेको छ ।

तपाईको प्रतिक्रिया