जग्गा संरक्षण आयोगको टोली दमकमा

  माघ २७, २०७६

दमक, २७ माघ : सरकारले गठन गरेको सरकारी, सार्वजनिक तथा गुठीको जग्गा संरक्षण आयोगले झापाको दमक र कमलमा भएको सावर्जनिक जग्गा अतिक्रमणका विषयमा प्रारम्भिक जानकारी लिएको छ । आयोगका अध्यक्ष मोहनरमण भट्टराई, सदस्य जानकीबल्लभ अधिकारीसहितको आयोगको चार सदस्यीय टोलीले दमकका सरकारी अधिकारी, जनप्रतिनिधि तथा सञ्चारकर्मीसँग सोबारेमा प्रारम्भिक छलफल गर्दै जानकारी लिएको हो ।

इलाका प्रशासन कार्यालय दमकमा करिब दुई घण्टासम्म भएको छलफलमा आयोगले गरिरहेको काम, उद्देश्यका बारेमा जानकारी गराइएको थियो भने सरोकारवाला निकाय तथा सरकारलाई आवश्यक सुझावसमेत प्रस्तुत गरिएको थियो । सो क्रममा दमक–८ स्थित बालुवाटारको सरकारी जग्गा अतिक्रमण गरी व्यक्तिका नाममा दर्ता गराएको विषय अनुसन्धानकै क्रममा रहेको र अख्तियार तथा विशेष अनुसन्धान एकाइमार्फत सो प्रकरणमा कारवाहीको प्रक्रिया अघि बढिसकेको जनाउँदै अध्यक्ष भट्टराईले कुनै पनि रुपमा व्यक्ति, सङ्घ संस्था वा निकायले पनि सरकारी जग्गा अतिक्रमण गरेको पाइएमा स्थलगतरुपमै जानकारी लिएर त्यससम्बन्धीको कारवाही अघि बढाउने जनाउ दिनुभयो ।

आयोगका सदस्य अधिकारीले आयोगले पूर्ण सक्रियताका साथ काम गरिरहेकाले कुनै पनि माध्यमबाट आफूहरुले पाएको सूचनालाई आधार मानेर सार्वजनिक, सरकारी तथा गुठीको जग्गा अतिक्रमण भए त्यसमा अनुसन्धान शुरु गरिने जानकारी दिनुभयो । सो क्रममा दमकको रतुवा, दिपिनी खोला र राते होलीको क्षेत्रका अतिरिक्त विभिन्न खोल्सी तथा पैनीमा रहेको ऐलानी, सरकारी जग्गा अतिक्रमणका विषयमा आयोगले जानकारी लिएको छ ।

तपाईको प्रतिक्रिया