‘अनुभवका अनुभूतिहरू’ लोकार्पित

  माघ २६, २०७६

काठमाडौं, २६ माघ : प्राध्यापक तथा पत्रकार डा दुर्गा दाहालको कविता सङ्ग्रह ‘अनुभवका अनुभूतिहरू’को लोकार्पण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालले प्रकाशनमा ल्याएको कृतिको वरिष्ठ कवि तुल्सी दिवसले लोकार्पण गर्नुभयो ।

उहाँले विदेशमा रहेर पनि लेखकले साहित्यिक कृतिको माध्यमबाट देशलाई योगदान पु¥याएको भन्दै बाहिर बसेपछि देशलाई बुझ्न सजिलो हुने धारणा राख्नुभयो । दिवसले लेखकले सूक्ष्म ढङ्गले मानवीय संवेदनालाई कृतिमा समेट्न सफल रहेको भन्दै प्रकृति, संस्कृति र विभिन्न कुरीतिसँग जोडिएका पक्षलाई कवितामा उतारेको बताउनुभयो ।

कृतिमाथि टिप्पणी गर्दै प्राध्यापक डा लक्ष्मण गौतमले कविले यस कृतिमा सकारात्मक सोचको भावनालाई प्रतिविम्बित गरेको बताउनुभयो । अर्का टिप्पणीकार गीता कार्कीले लेखकले प्रेरणा र मानवीयताको महत्वलाई उच्चतम ढङ्गले स्थान दिएको बताउनुभयो ।

समाजका अध्यक्ष राधेश्याम लेकालीले राजनीतिमा सुधार ल्याउन श्रष्टाहरू सत्तासम्म पुग्नुपर्ने धारणा राख्नुभयो । सोही अवसरमा दाहालको शब्द रहेको गीति एल्बम ‘माया’ पनि सार्वजनिक गरियो । गीतमा आनन्द कार्कीको स्वर र सरोज प्याकुरेलको सङ्गीत रहेको छ ।

तपाईको प्रतिक्रिया