अन्तर सहकारी मैत्रीपूर्ण फुट्सल प्रतियोगिता सम्पन्न

  माघ २६, २०७६

माघ २६, काठमाडौं । उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३ औ स्थापना दिवसको अबसरमा आयोजना गरेको “अन्तर सहकारी मैत्रीपूर्ण फुट्सल प्रतियोगिता २०७६” सम्पन्न भएको छ ।


शनिवार काठमाडौँको चुच्चेपाटी भाटभटेनी सुपरमार्केटको भाटभटेनी हेल्थ क्लबको फुट्सल ग्राउन्डमा सम्पन्न भएको उक्त प्रतियोगिता “खेल मार्फत हार्दिकता र सहकार्यलाई थप मजबुत बनाउने प्रयास” मूलनाराका साथ सहकारी आन्दोलनमा सम्बद्ध संस्थाहरुमा आबद्ध सदस्यहरुबीच आपसी समझदारी, मित्रता एवम निकट कार्यव्यवहार सम्बन्धलाई उजागर गर्न र झन दिगो बनाउने उद्देश्यका साथ आयोजना गरिएको आयोजक संस्था उज्यालो साकोसले जनाएको छ ।

प्रतियोगितामा उज्यालो साकोस, संपद साकोस, नव सृजनशील साकोस, सप्तदेब साकोस, उमंग साकोस, सिन्धु काठमाण्डौ साकोस, कुटुम्ब साकोस र नबोदय बहुउद्देशीय सहकारी संस्था लिमिटेड गरी ८ वटा सहकारी संस्थाहरुले सहभागिता जनाएका थिए ।


प्रतियोगिताको उद्दघाटन काठमाडौँ महानगरपालिका वडा नं ७ का वडा अधक्ष्य श्री शुद्द कुमार डंगोलले खेलाडीहरुलाई बल हस्तान्तरण गर्दै गर्नुभएको थियो । प्रतियोगिता सुरुदेखिनै नकआउट चरणमा संचालन भएको थियो । सुरुवाती खेलमा नव सृजनशील साकोसले सिन्धु काठमाण्डौ साकोसलाई ३(० गोल अन्तरमा हराउदै आफ्नो सेमिफाईनल यात्रा तय गरेको थियो भने दोश्रो खेलमा आयोजक संस्था उज्यालो साकोसलाई १(० गोल अन्तरमा हराउदै संपद साकोसले आफ्नो बिजयी सुरुवात गरेको थियो ।


निर्धारित २० मिनेटमा गोल रहित बराबरीमा सकिएको उक्त रोमान्चकारी खेलको अतिरिक्त १० मिनेट समयमा संपद साकोसले गोल गर्न सफल भएको थियो । त्यसैगरी प्रतियोगिताको तेश्रो खेलमा उमंग साकोसले कुटुम्ब साकोसलाई ५(० को गोल अन्तरमा पराजित गरि सेमीफाईनल प्रबेस गरेको थियो भने प्रतियोगिताको चौथो खेलमा नबोदय बहुउद्देशीय सहकारी संस्था लिमिटेडलाई ६(१ गोल अन्तरमा हराउदै सप्तदेब साकोसले आफ्नो सेमिफाईनल खेल पक्का गरेको थियो ।

प्रतियोगिताको सेमिफाईनल खेलको पहिलो खेल नव सृजनशील साकोस र उमंग साकोसको बिचमा सम्पन्न भएको थियो । उक्त खेलमा नव सृजनशील साकोसले उमंग साकोसलाई २(० गोल अन्तरमा पराजित गर्दै फाईनल खेलको लागि आफ्नो स्थान सुरक्षित गरेको थियो भने सेमिफाईनलकै दोश्रो खेलमा संपद साकोसले सप्तदेब साकोसलाई २(० गोल अन्तरमा हराउदै फाइनल पक्का गरको थियो । तेश्रो स्थानको लागि भएको खेलमा सप्तदेब साकोसले उमंग साकोसलाई ५(२ गोल अन्तरमा पराजित गर्दै तेश्रो स्थान हात पारेको छ ।


प्रतियोगितामा संपद साकोसले नव सृजनशील साकोस लाई फाईनलमा २(१ गोल अन्तरमा पराजित गर्दै प्रतियोगिाको उपाधि हात पारेको छ ।


विजेता संस्थाले ट्रफी, मेडल, सर्टिफिकेट र नगद रु। २५,००० हजार पुरस्कार प्राप्त गरेको छ भने र उपविजेता संस्थाले ट्रफी, मेडल, सर्टिफिकेट र नगद रु। १५,००० हजार पुरस्कार प्राप्त गरेको छ । तेश्रो स्थान हासिल गर्ने संस्थाले ट्रफी, मेडल, सर्टिफिकेट र नगद रु। ५,००० हजार पुरस्कार प्राप्त गरेको छ । विजेता संस्थाका खेलाडीहरु रजुन सिग्देलले उत्कृष्ट गोल रक्षक र बिबेक बिष्टले उत्कृष्ट खेलाडीको उपाधी हात पारे भने सप्तदेब साकोसका बिजय श्रेष्ठले प्रतियोगितामा सर्बाधिक ६ गोल गरि उत्कृष्ट गोलकर्ताको उपाधि हात पारे । उमंग साकोसले अनुशासित टिमको उपाधी हात पारेको छ ।


प्रतियोगिताको पुरुस्कार बितरण तथा समापन कार्यक्रममा प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफस्कुन) का अध्यक्ष श्री परितोष पौड्यालले खेलमा स्वास्थ, अनुशासन र टीम निर्माण रकार्यगत एकता जस्ता आधारभूत कुराहरु आवस्यक रहने भन्दै उज्यालो साकोसले प्रतियोगितालाई हरेक तवरबाट सफलरुपमा आयोजना गरेको उल्लेख गर्दै संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व बहन गरेकोमा खुसि व्यक्त गर्नुभयो । उहाले नेफस्कुन युवा लक्षित यस्ता कार्यक्रमहरु गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गर्दै आफुले यसको पहलकदमी लिने बताउनुभयो ।

उज्यालो साकोसका उपाध्यक्ष तथा फुट्सल प्रतियोगिता कार्यक्रमका सयोजक भुपेन्द्र प्रसाद भट्टराईले खेल मार्फत हार्दिकता र सहकार्य मजबुत बनाउने संस्थाको उद्देश्य रहेको बताउदै सहभागी सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो । उज्यालो साकोसका अध्यक्ष बिनोद लुईटेलले खेल मार्फत सबै संस्थाहरुको सहकार्यको भावना जागृत गराउदै संस्थाहरुलाई भावनात्मक रुपमा नजिक बनाउदै एकिकरणको लागि समेत आह्वान गर्नुभयो ।

तपाईको प्रतिक्रिया