पाम आयल भारत निकासी खुला

  माघ २६, २०७६

काठमाडौं, २६ माघ : भारतले नेपालको पाम आयल निकासीमा लगाएको प्रतिबन्धलाई खुला गरेको छ । आफ्ना आयातकर्ताले अनुमतिपत्र लिनुपर्ने व्यवस्था गर्दै भारतले त्यसकै आधारमा पाम आयल आयात गर्न पाउने व्यवस्था गरेको हो ।

यससँगै अब नेपाली पाम आयल भारतमा निर्यात गर्न बाटो खुलेको उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले जानकारी दिए । 

भारतको वाणिज्य मन्त्रालयले २३ पुसदेखि नेपाली पाम आयल निकासीमा रोक लगाएको थियो । त्यसपछि सरकार, निजी क्षेत्र र स्वयं भारतीय आयातकर्ताले पाम आयल खुलाउन आग्रह गर्दै आएका थिए । भारतले ठाडै खुला नगरेपछि घुमाउरो बाटोबाट खुला गरेको हो । अब पूर्ववत् रूपमै निकासी हुने दुगडले जानकारी दिए । बिहीबार एक भारतीय आयातकर्ताले पाम आयल आयातका लागि अनुमतिपत्र पनि लिएका छन् । 

घुमाउरो बाटोबाट आयात खुला गरे पनि भारतले केही संकुचन नीति लिन सक्ने नेपाली व्यवसायीको आशंका छ ।ठूलो परिमाणमा पाम आयल निकासी हुन थालेपछि भारतले चासो राख्दै आएको थियो । उसले पाम आयलमा हुने ३ सय ५ प्रतिशत मूल्य वृद्धिप्रति आपत्ति जनाउँदै रोक लगाएको थियो । 

निकासीमा रोक लगाएको एक सातापछि मन्त्रालयले पत्राचार गर्दै खोल्न आग्रह गरेको थियो । पाम आयलको निकासीमा लगाइएको रोक साफ्टा र दुईपक्षीय व्यापार सन्धि तथा सम्झौताविपरीत भएको भन्दै नेपालले भारतको ध्यानाकर्षणसमेत गराएको थियो ।

नेपालमा २० पाम आयल उद्योग छन् । त्यसमध्ये १७ वटाले निकासी गर्छन् । नेपालले इन्डोनेसिया र मलेसियाबाट कच्चा पदार्थ पाम ल्याएर प्रशोधन गर्दै निकासी गर्ने गरेको छ । 

तपाईको प्रतिक्रिया