दिल्ली विधान सभा निर्वाचनमा ५७ प्रतिशत मतदान

  माघ २५, २०७६

नयाँ दिल्ली, २५ माघ : भारतको राजधानी नयाँ दिल्लीमा विधानसभाका लागि शनिबार सम्पन्न निर्वाचनमा ५७ प्रतिशत मत खसेको छ । दिन ढल्किएपछि उल्लेख्य मत खसेको भारतीय निर्वाचन आयोगले जनाएको छ ।

दिल्लीको शहरी क्षेत्रमा आफ्नो काम सकेर मतदानमा सहभागी हुँन आएका मतदान केन्द्रमा खटिएका अभिकारीले बताएका छन् ।

कुल ७० सदस्यको दिल्ली विधानसभाका लागि मतदान गर्न साँझ छ बजे मतदान केन्द्रमा पुगी लाइनमा बसेका मतदातालाई अवसर दिइएको निर्वाचन आयोगले बताएको छ । “दिल्ली विधानसभाका लागि सम्पन्न निर्वाचनमा ५७ प्रतिशत मत खसेको छ,” प्रमुख निर्वाचन आयुक्त रनबिर सिंले बताए ।

दिल्लीबाट राष्ट्रपति रामनाथ कोविन्द, पूर्वउपराष्ट्रपति हामिद अन्सारी, पूर्वप्रधानमन्त्री मनमोहन सिंह, दिल्ली उपराज्यपाल अनिल बैजल, मुख्यमन्त्री अरविन्द केजरीवाल, काङ्ग्रेस अध्यक्ष सोनिया गान्धी, भाजपा नेता लालकृष्ण आडवाणी र केन्द्रीय मन्त्री हर्षवर्धन र एस जयशङ्करले शनिबार मतदानमा सहभागिता जनाउनुभएको छ ।

काँग्रेस नेता राहुल गान्धी र प्रियङ्का गान्धी वाड्राले पनि दिल्लीबाट मतदान गर्नुभएको छ ।

दिल्ली विधान सभाका लागि हुने शनिबारको मतदानका लागि एक करोड ४० लाख मतदाता रहेका छन् । जसमध्ये ८१ लाख पाँच हजार २३६ पुरूष र ६६ लाख ८० हजार २७७ महिला मतदाता रहेका छन् । दिल्लीमा ८६९ तेस्रो लिङ्गी मतदाता रहेका थिए ।

मतदानका लागि १३ हजार ५७१ मतदान केन्द्र रहेको दिल्लीमा करिब तीन हजार मतदानका हिसाबले संवेदनशिल र १४४ अति संवेदनशिल केन्द्र रहेका भन्दै ती स्थानमा कडा सुरक्षा व्यवस्था मिलाइएको थियो ।

दिल्लीमा यस पटकको चुनावका लागि कूल ६७२ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । ऐतिहासिक सफलतासहित पार्टीका नेता अरविन्द केजरिवालको नेतृत्वमा बनेको दिल्ली सरकारको कार्यकाल यही फेब्रुअरी २२ तारिखमा सकिँदैछ । नयाँ सरकारमा फेरि केजरिवालले मौका पाउनु हुनेछ कि अन्य पार्टीको भाग्य खुल्ने छ भन्ने कुराको फैसला शनिबारको मतदानले गर्नेछ ।

प्रमुख प्रतिस्पर्धी दलहरुका बीचमा चुनाव प्रचारप्रसारका क्रममा एक अर्काप्रति चर्को आरोप¬प्रत्यारोप चलिरहेको थियो । उनीहरुले विवादास्पद अभिव्यक्ति पनि दिएका थिए ।

आम आदमीले दुई तिहाइ ल्याउने : एक्जिट पोल
शनिबार सार्वजनिक अधिकांश ‘एक्जिट पोल’अनुसार दिल्लीको सत्ताधारी दल आम आदमी पार्टीले दुई तिहाइ ल्याउने प्रक्षेपण भएको छ । त्यस्तै केन्द्र सरकारको नेतृत्व गरेको भाजपा दोस्रो स्थानसहित अघिल्लो चुनावमा भन्दा सुधारिएको नतिजा ल्याउने बताइएको छ ।

दिल्लीमा यसपाली पनि लामो समय सत्तामा बसेर कृही वर्ष पहिले बाहिरिएको भारतीय कङ्ग्रेसले निकै थोरै सीट ल्याउने अनुमान गरिएको छ । द टाइम्स नाओ–इपसोसले दिल्लीमा आपको ४७ र भाजपाको २३ सीट आउने र बाँकी अन्य दलले जित्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया