अमेरिकी र जापानीसहित कोरोनाका कारण ७२२ जनाको मृत्यु

  माघ २५, २०७६

बेइजिङ, २५ माघ : चीनबाट शुरु भई विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ७२२ पुगेको छ ।

मृत्यु हुनेमध्ये दुईजना विदेशी पनि रहेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले ६० वर्षीय एक अमेरिकी नागरिकको उहानमा बिहीबार मृत्यु भएको जानकारी दिए पनि अन्य विवरण भने दिएका छैनन् ।

त्यसैगरी अर्का एकजना ६० वर्षीय नै जापानीको पनि कोरोना भाइरसकै कारण उहानमै मृत्यु भएको छ । जापानको विदेश मन्त्रालयले घटनाको पुष्टि गरेको समाचारमा जनाइएको छ ।
सरकारी अधिकारीहरुका अनुसार थप झण्डै तीन हजार पाँच सय जनामा यस भाइरसको सङ्क्रमण देखिएको छ ।

कोरोनाका कारण चीनबाहिर भने अहिलेसम्म हङकङ र फिलिपिन्समा दुई व्यक्तिको मृत्यु भएको छ । उनीहरु दुवै जना चिनियाँ नागरिक नै हुन् ।

डिसेम्बरकोे अन्त्यमा चिनियाँ बजार उहानमा पहिलोपटक देखापरेको नयाँ कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएको छ ।

विश्वका झण्डै ३० देशमा यो भाइरसबाट ग्रसित व्यक्ति फैलिएको छ भने तीन देशमा कूल ३२० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

कोरोना भाइरसबाट अतिप्रभावित क्षेत्र मानिने उहानमा सरकारले शुक्रबार ११ हजार स्वास्थ्यकर्मी थप गरेको छ । देशका अति राम्रा मानिएका आइसियु स्टाफसहितका स्वास्थ्यकर्मीको टोली उहानमा पठाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुमध्ये तीन हजारजना सघन उपचारकक्षमा काम गर्ने चिकित्सक र नर्स रहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका गुओ यानहोङले शुक्रबार बताउनुभयो । अहिले भइरहेका स्वास्थ्यकर्मीले लामो समयसम्म काम गर्दा उनीहरुलाई शारीरिक तथा मानसिक थकान हुने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया