काठमाडौं, २५ माघ : उपन्यासकार शिव प्रधानको औपन्यासिक कृति ‘रुदिना’को एक समारोहबीच प्रमुख अतिथि वरिष्ठ आख्यानकार परशु प्रधानले लोकार्पण गरेका छन् ।
काठमाडौंमा शुक्रबार स्रष्टा समाज नेपालद्वारा आयोजित कार्यक्रममा ‘रुदिना’ लोकार्पण गर्दै आख्यानकार परशु प्रधानले ‘शिव प्रधानको लेखन अरुका लागि पनि प्रेरक बनोस्’ भन्दै शुभकामना व्यक्त गरे ।
कार्यक्रममा विमोचित कृतिको चिरफार गर्दै प्राडा गोविन्दमान सिंह कार्कीले ‘रुदिना’मा उत्तरआधुनिकतावादकासाथै यौन मनोविज्ञान पनि पाइने उल्लेख गरे । साहित्यकार तर्कना शर्माले पनि सार्वजनिक उपन्यास माथि बोल्दै कृतिले विदेशमा बस्ने नेपालीहरूको पीडा बोलेको बताइन् ।
सर्जंक शिव प्रधानका यस अघि दुई पुस्तक प्रकाशित भइसकेका छन् । स्रष्टा समाजका अध्यक्ष विधान आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका संरक्षक पवन आलोक, उपन्यासकार शिव प्रधान, पुष्पा खनाललगायतले बोलेका थिए ।