चीनलाई सहानुभूति व्यक्त गर्न कम्बोडियाका प्रधानमन्त्री बेइजिङमा

  माघ २२, २०७६

बेइजिङ, २२ माघ : चिनियाँ प्रधानमन्त्री लि क्वाङसँग कम्बोडियाका प्रधानमन्त्री हुन सेनले भेटवार्ता गर्नुभएको छ । चीनको भ्रमणमा रहनु भएका हुन सेनले क्वाङलाई बेइजिङस्थीत ग्रेट हल अफ द पिपल्समा बुधबार भेटवार्ता गर्नुभएको हो ।

चीनमा फैलिएको कोरोना भाइरसबाट सयौँ चिनियाँको मृत्यु भएको, हजारौँ सङ्क्रमित भएको र अरू धेरै त्रसित भइरहेको बेलामा आत्मीयता देखाउनका लागि हुन सेन चीन आउनु भएको जनाइएको छ ।

चिनियाँ नागरिकको दुःखमा साथ दिन र सहानुभूति व्यक्त गर्नका लागि उहाँले चीनको भ्रमण गर्नु भएको अधिकारीहरूले बताएका छन् । उहाँले भेटका क्रममा चिनियाँ उच्च अधिकारीहरूलाई कम्बोडियाली जनताको तर्फबाट सहानुभूति व्यक्त गर्नुभएको थियो ।

भेटवार्ताका क्रममा उहाँहरूका बीचमा आपसी सहयोग, दुईपक्षीय हित, साझा चासोलगायतका विषयमा कुराकानी भएको जनाइएको छ ।

कम्बोडियाली प्रधानमन्त्री हुन सेनले दुःखको यस घडीमा चीन सरकार र जनताले सङ्क्रमण नियन्त्रणका लागि धेरै राम्रो काम गरिरहेको बताउनु भएको थियो ।

चिनियाँ प्रधानमन्त्री लिले चिनियाँ नागरिकको स्वास्थ्य नै सरकारको प्रमुख प्राथमिकतामा रहेकाले त्यहीअनुसार काम भइरहेको जानकारी दिनुभएको थियो ।

यसअघि थाइल्याण्डका विदेशमन्त्री डोन प्रमुदिवानीले पनि बुधबार बिहान चिनियाँ विदेशमन्त्री वाङ यीलाई फोन गरी सङ्क्रमणबाट चाडै मुक्ति पाउने विश्वास व्यक्त गर्नुभएको थियो ।

थाई विदेशमन्त्री डोनले सङ्कटको घडीमा थाइल्याण्ड सधैँ चिनियाँ नागरिक र चीन सरकारको पक्षमा रहेको आश्वासन पनि दिनुभएको थियो ।

उहाँले चीनलाई अप्ठेरो परिस्थितिमा आवश्यक पर्ने सबै खालको सहयोग उपलब्ध गराउन थाई सरकार तत्पर रहेको पनि बताउनुभएको थियो ।

चीनबाट शुरू भई विश्वका करिब दुई दर्जन मुलुकमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणले अहिले नै विश्वभरी महामारीको रूप नलिएको तर यसको खतरा भने बढ्दै गएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले मङ्गलबार बताएको छ ।

कोरोना भाइरसका कारण चीनमा मङ्गलबारसम्म ४७९ जनाको मृत्यु भइसेकेको छ । यसैगरी १६ हजार ६७८ व्यक्तिमा सङ्क्रमण भएको कारण उपचार गराइरहेका छन् । तीमध्ये दुई हजार ५२० जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । सो प्रान्तमा यस भाइरस सङ्क्रमणको कारण उपचार गराइरेहका ५२० जना उपचारपछि घर फर्किएका मङ्गलबार जनाइएको छ ।

चीनको मध्यक्षेत्रमा पर्ने हुबेइको उहानबाट पहिलो पटक डिसेम्बरमा देखापरेको उक्त भाइरस विश्वका करिब दुई दर्जन मुलुकमा पुगेको भए पनि त्यहाँ सङ्क्रमण महामारीका रूपमा नरहेको चिनियाँ विदेशमन्त्रीले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया