कपनमा नै फर्किए म्यानमाली शरणार्थी रोहिंगा

  माघ २२, २०७६

बनेपा, २२ माघ : कामको खोजीमा करीब साढे दुई महिनाअगाडि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवी थापागाउँमा आएर बसोबास गर्दै आएका म्यानमाली शरणार्थी रोहिङ्गा परिवार मङ्गलबार पुनः काठमाडौंस्थित कपनमा नै फर्किएका छन् ।

स्थानीयवासी सत्यराम थापाको जग्गामा बसोबास गर्दै आएका सो समुदायका १० परिवारका करीब ३४ जना पुनः मङ्गलबारदेखि कुशादेवी छोडेर कपन फर्केको वडा नं ३ का वडाध्यक्ष ईश्वर थापाले बताउनुभयो ।

एक हप्ताअगाडीदेखि नै जानका लागि सामानहरू ओसार्ने क्रममा रहेका उनीहरू आज सबै परिवार फर्किएको वडाध्यक्ष थापाले बताउनुभयो । कपनमा बस्दै आएका ती समुदाय त्यहाँका जग्गाको भाडा सम्झौता सकेपछि विकल्प खोज्दै यता आएको पाइएको र अहिले फेरि उतै फर्केर गएको उहाँले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले ३४ मध्ये १७ जना १८ गते शनिबारदेखि नै कपनको लसुनटार भन्ने स्थानमा गएको बताउनुभयो । बाँकी रहेकामध्ये सातजना सोमबार गएको र बाँकी १० जना मङ्गलबार गएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताउनुभयो । अब त्यो ठाउँमा रोहिङ्गा समुदायको कोही पनि व्यक्ति बसोबास नरहेको उहाँले बताउनुभयो ।

ती समुदायका दश परिवारको ३४ जनामा १ देखि ६२ बर्षसम्मका व्यक्ति रहेको र जसमा १३ साना बालबालिका र आठ महिला रहेको प्रहरीले जनाएको छ । त्यसरी आएका रोहिङ्गा कुशादेवी आसपासमा कामको खोजी गर्दै जीविकोपार्जन गर्दै आएको थियो । ती परिवारका पुरुष व्यक्तिहरू दैनिक गुजारा चलाउन काम खोज्ने र श्रम गर्ने रहेको तथा महिला घरको काम गर्ने र परिवार हेरचाह गर्ने गर्दै आएको थियो ।

शुरुमा १४० जनाको सङ्ख्यामा हुने भन्दै टहरा बनाउन थालेका उनीहरूले पछि ३४ जना मात्रै हुने भन्दै बनाएको टहरा भत्काएर ११ वटा टहरामा बस्दै आएका थिए । रोहिङ्गा समुदायका नुर हप्पिसका अनुसार बनाएको टहराका परिवारअनुसार स्वयंले भाडा तिर्नेगरी बस्दै आएकामा पछिल्लो समय उतै फर्केको हो । नयाँ मान्छेहरू आएपछि सशङ्कित बनेका त्यहाँका स्थानीय बासिन्दालाई उनीहरूले आफूहरू परिश्रम गरेर खाने मान्छे भएका कारण सशङ्कित नहुन आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया