शहीद स्मारक लिग : च्यासल युथ क्लब विजयी

  माघ २१, २०७६

काठमाडौं, २१ माघ : शहीद स्मारक ए डिभिजन लिगको सोमबार भएको दोस्रो खेलमा च्यासल युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मैदानमा भएको खेलमा च्यासलले मनाङमस्र्याङ्दी क्लबलाई २–० गोलले पराजित गरेको हो ।

खेलको तेस्रो मिनेटमा च्यासलका अमिर श्रेष्ठले गोल गर्ने मौका पाउनुभएको थियो । उक्त मौकाको उहाँले फाइदा लिन सक्नुभएन । यस्तै खेलको १०औँ मिनेटमा च्यासलका सन्तोष साउखलको प्रहार गोलमा परिणत हुन सकेन । खेलको २४औँ मिनेटमा टेइगी नाकामुराले च्यासलका लागि पहिलो गोल गर्नुभयो । खेलको ३६औँ मिनेट र ४१औँ मिनेटमा मनाङका अञ्जन विष्टले गोल गर्ने मौका पाए पनि त्यसको फाइदा लिन सक्नुभएन । पहिलो हाफको प्रदर्शनमा सुधार गर्दै खेलको मनाङले दोस्रो हाफमा पनि गोल गर्न सकेन ।

यसैगरी खेलको ४९औँ मिनेटमा निशान लिम्बूले गोल गर्ने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सक्नुभएन । खेलको ६४औँ मिनेटमा मनाङमा विमल रानाले गोल गर्ने मौका पाए पनि विपक्षी खेलाडीले सफल हुन दिएनन् । खेलमा रेफ्रीलाई दुव्र्यवहार गरेको भन्दै च्यासलका प्रशिक्षक बालगोपाल महर्जनले रातोकार्ड पाउनुभएको थियो । खेलको इन्जुरी समयमा नाकामुराको पासमा च्यासलका सन्तोष साउखलले उत्कृष्ट गोल गर्नुभयो । जितपछि च्यासल १२ अङ्कका साथ लिगको नवौँ स्थानमा उक्लेको छ भने हारपछि मच्छिन्द्र २२ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

त्रिकोणात्मक सिरिजअघि मुख्य प्रशिक्षक पटवालको राजीनामा
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले नेपालमै आयोजना हुन लागेको त्रिकोणात्मक सिरिज अघि राजीनामा दिनुभएको छ । नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज सकिएपछि लागू हुनेगरी पटवालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) समक्ष राजीनामा बुझाउनुभएको हो । उक्त सिरिज बुधबारदेखि कीर्तिपुरमा शुरु हुँदै छ । नेपालले पहिलोपटक आइसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न लागेको हो । पटवाल गत जेठमा एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमै रहेका बखत पटवाललाई राष्ट्रिय खेलकूद परिषद् (राखेप)को पहलमा आइसीसीले मासिक सात हजार अमेरिकी डलर पारिश्रमिक दिनेगरी मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । उहाँले पोखरामा यसअघि भइरहेको बन्द प्रशिक्षणका क्रममा राजीनामा दिएको बताइएको छ । पटवालले पोखरामा बन्द प्रशिक्षणकै क्रममा आफूले मुख्य प्रशिक्षकबाट राजीनामा दिन लागेको बताउँदै आउनुभएको थियो । नेपालले ओमान र अमेरिकासित घरेलु मैदानमा चार खेल खेल्दैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पटवालको राजीनामाबारे आधिकारिकरूपमा कुनै जानकारी प्राप्त नभएको जनाएको छ ।

तपाईको प्रतिक्रिया