बेलायत युरोपियन युनियनबाट औपचारिक रुपमा बाहिरियो

  माघ १८, २०७६

लण्डन, १८ माघ : करिब तीन वर्ष सात महिनाको उतारचढावपछि बेलायत युरोपियन युनियन (इयु) को सदस्यबाट बाहिर निस्किएको छ ।

युरोपियन युनियनको सदस्यबाट बेलायतबाहिर निस्किने प्रक्रियालाई बेलायतका मिडियाले ब्रेक्जिट भनेर नामकरण गरे र हाल संसारभरका मिडियाले यही शब्दको प्रयोग गरेका छन् । शनिबार बेलायत र विश्वका मिडियाले ब्रेक्जिट सफल भएको लेखेका छन् ।

यसअघि राखिएको अन्तिम समयतालिका सन् २०२० को जनवरी ३१ अर्थात् शुक्रबार बेलायत युरोयिन युनियनबाट औपचारिक रुपमा नै अलग भएको छ । स्थानीय समयानुसार शुक्रबार राति ११ बजे बेलायत युरोपियन युनियनको सदस्यबाट बाहिर निस्किएपछि अब यसको सबै औपचारिकता पूरा भएको छ ।

युरोपेली युनियनको सदस्य रहेको करिब ४७ वर्षपछि बाहिरिएबाट अब यो युनियनको परिचय पनि फेरिन पुगेको छ र बेलायत बाहेकको युरोपेली युनियनको पहिचानमा अब यो युनियन रहेको छ । बेलायतका नागरिकको जनमतका आधारमा नै बेलायतले यो निर्णय लिनपुगेको हो ।

बेलायतमा सन् २०१६ जुन २३ मा बेलायत युरोयिन युनियनबाट निस्किने विषयमा जनमतसङ्ग्रह भएको थियो । त्यस जनमत सङ्ग्रहमा बेलायती नागरिकले बेलायतलाई उक्त युनियनबाट बाहिर निस्किन जनमत दिएका थिए ।

त्यस निर्वाचनमा ५२ प्रतिशत मतदाताले ब्रेक्जिटको पक्षमा मतदान गरेका थिए । त्यस्तै बेलायत युरोपियन युनियनबाट बाहिरिन हुँदैन भन्ने पक्षमा मतदान गर्नेको सङ्ख्या ४८ प्रतिशत थियो ।

त्यस जनमत सङ्ग्रहपछि नै बेलायत इयुबाट बाहिरिने प्रक्रिया शुरु भयो तर पछि आएर भने बेलायतले विविध खाले समस्याहरु व्यहोरेको थियो किनभने यिनै समस्याहरुका कारण नै यस अवधिमा प्रधानमन्त्री नै दुईजना बन्नु परेको थियो ।

त्यस जनमतसङ्ग्रहकै कारणलगत्तै तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । उहाँपछि प्रधानमन्त्री बनेकी थेरेसा मेले ब्रेक्जिटको एजेन्डा पूरा गर्ने भनेर लाग्नुभएको थियो तर पनि यस प्रयोजनका लागि आवश्यक पर्ने विभिन्न सर्तहरूका विषयमा उहाँले संसद्को समर्थन हासिल गर्न सक्नुभएन । जसका कारण उहाँले पनि राजीनामा दिनुप¥यो ।

उहाँको राजीनामापछि यो दायित्व वर्तमान प्रधानमन्त्री बोरिस जोनसनसमक्ष आएको थियो । उहाँले आफूले यो दायित्व पूरा गरेको बताउनुभएको छ ।

ब्रेक्जिट हुने समय शुरुमा सन् २०१९ को मार्च २९ को लागि नै तय गरिएको थियो तर पनि यस विषयमा विवादहरु उत्पन्न भए । इयु र पूर्वप्रधानमन्त्री थेरेसा मेबीचमा सम्झौता भएपछि त्यसलाई संसद्ले अस्वीकार गरेपछि कैयौँ पटकसम्म पछि धकेलिएको थियो ।

यसै विषयमा गत डिसेम्बर महिनामा भएको निर्वाचनमा बेलायतको हाउस अफ कमन्सका ८० सदस्यको बहुमत प्राप्त भएपछि प्रधानमन्त्री जोनसनलाई बे्रक्जिटमा जान सहज सहमति प्राप्त भएको हो । सोही प्रावधानअनुरुप गएराति बेलायत बाहिरिएको हो ।

बेलायत बहिर्गमन भए पनि शुरुमा ११ महिनाको अवधिमा व्यापार, भ्रमण र व्यवसायका लागि इयु नियमको पालना गर्ने सहमति भएको पनि प्राप्त समाचारमा जनाइएको छ ।

यी दुई पक्षबीचको भविष्य र व्यापार सम्बन्धको वार्ता एक वर्षभित्र गरिने बताइएको छ । त्यसैले यस प्रक्रियाले पूर्णता पाउनका लागि थप ११ महिनाको अवधि आवश्यक पर्नेछ ।

तपाईको प्रतिक्रिया