चीनमा कोरोना भाइरसबाट २५९ को मृत्यु, ११ हजार ७९१ प्रभावित

  माघ १८, २०७६

बेइजिङ, १८ माघ : विश्वव्यापी बन्दै गइरहेको कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेहरुको सङ्ख्या शनिबारसम्ममा २५९ पुगेको छ ।

चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरसबाट प्रभावित हुनेहरुको सङ्ख्या भने ११ हजार ७९१ पुगेको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दैनिक रुपमा यससम्बन्धी विवरणहरु सार्वजनिक गर्ने गरेको छ । आयोगले बिरामी भएकामध्ये एक हजार ७९५ जनाको अवस्था गम्भीर रहेको छ ।

उनीहरुका अनुसार अरू १७ हजार ९८८ जनालाई पनि कोरोना भाइरसकै सङ्क्रमण भएको आशङ्कामा परीक्षण गरिएको छ । उनीहरुको परीक्षणको नतिजा भने आइनसकेको अधिकारीहरुले जनाएका छन् ।

बिरामी भएकामध्ये कूल २४३ जनालाई उपचारपछि अस्पतालबाट फिर्ता गरिएको स्वास्थ्य आयोगले जनाएको छ । आयोगका अनुसार शुक्रबार मात्रै दुई हजार १०२ जना नयाँ सङ्क्रमित भेटिएका छन् भने पाँच हजार १९ जनालाई शङ्काको घेरामा राखेर परीक्षण भइरहेको छ ।

त्यसैगरी शुक्रबार मात्रै थप ४६ जनाको मृत्यु भएको छ, तीमध्ये ४५ हुवेई प्रान्तमा र एकजना चोङक्विङ नगरपालिकामा मृत्यु भएको हो ।

स्वास्थ्य अधिकारीहरुले शुक्रबार २६८ जना गम्भीर बिरामी थपिएको जानकारी दिएका छन् भने त्यही दिन ७२ जना उपचारपछि घर फर्किएका छन् । चीनकोे मध्य क्षेत्रमा पर्ने उहान शहरमा सबैभन्दा पहिले देखिएको कोरोना भाइरसको सङ्क्रमण अहिले संसारका दुई दर्जनभन्दा बढी देशहरुमा फैलिइसकेको छ ।

भाइरसको प्रकोप फैलिँदै गएपछि विश्वस्वास्थ्य सङ्गठनले आपत्कालीन अवस्थाको घोषणा गरेको छ भने विभिन्न देशले चीनसँगको नाकाबाट हुने आवतजावतलाई कडाइ गरेका छन् । संसारका धेरै देशले आफ्नो सिमाना पार गरेर आउने हरेक व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया