चीनका नेपाली विद्यार्थीको रेस्क्यु गर्न जहाज तयार : पर्यटनमन्‍त्री

  माघ १८, २०७६

काठमाडौं, १८ माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्‍त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको रेस्क्यु गर्न जहाज तयारी अवस्थामा रहेको बताएका छन् ।

कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा शनिबार पर्यटन बार्डमा भएको छलफलमा मन्‍त्री भट्टराईले चीनमा अध्ययनरत विद्यार्थीहरुलाई फिर्ता गर्न २ वटा जहाज तयारी अवस्थामा रहेको बताएका हुन् । पराराष्ट्र मन्‍त्रालयले चिनियाँ सरकार र दूतावससँग प्रभावित क्षेत्रका विषयमा जानकारी दिइरहेको अवगत गराउँदै भट्टराईले अहिलेसम्म नेपाली विद्यार्थीहरु सुरक्षित रहेको बताए ।

साथै दूतावासले कोरोना भाइरसको प्रकोप रोक्न, नियन्त्रण र व्यवस्थापन गर्न सकिने खालको भएको जनाएको छ । कोरोना भाइरसलाई जितेरै छाड्‍ने आत्मविश्वास आफूहरुसँग भएको चीनले बताएको कान्तिपुरले जनाएको छ ।

चीनले अत्यन्तै जिम्मेवार ढंगले सबै विदेशी नागरिकको स्वास्थ्यको ख्याल राखेको बताएको छ । साथै चिनियाँ विदेश मन्त्रालयले आपत्कालीन उद्दारका लागि सबैसँग समन्वय गर्ने प्रतिबद्धता जनाएको छ । चीनले विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) सँग मिलेर नेपालले कोरोना भाइरस रोकथामका लागि चालेका कदमको प्रशंसा गरेको छ । तत्काल केही सहयोगको आवश्यक परे काठमाडौंस्थित चिनियाँ दूतावास र विदेश मन्त्रालयलाई सम्पर्क गर्न पनि नेपाललाई चीनले आग्रह गरेको छ ।

पछिल्लो अवस्थाका कारण नेपालको पर्यटन क्षेत्र प्रभावित भएको बताउँदै कोरोना भाइरसको प्रकोप नियन्त्रण भएपछि चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्ने चीनले प्रतिबद्धता जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आफूले योगदान गर्ने पनि चीनले प्रतिबद्धता जनाएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शनिबार बिहानसम्म चीनमा कोरोना भाइरसले मृत्यु हुनेको संख्या २५९ पुगेको छ । त्यस्तै ११ हजार ७ सय ९१ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको कान्तिपुरमा उल्लेख छ ।

हुबेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण नियन्त्रण हुनुभन्दा पनि झन्‌झन् फैलिँदैे गएको छ। चीनबाट फैलिएको नोवल कोरोना भाइरसको संक्रमण करिब दुई दर्जन मुलुकमा देखिएपछि विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ। जेनेभामा बिहीबार बसेको डब्लूएचओको आपत्‌कालीन बैठकले असाधारण घटनाका रुपमा व्याख्या गर्दै संकटकाल घोषणा गरेको हो ।

तपाईको प्रतिक्रिया