नेकपा बैठकमा समूहगत प्रतिवेदन प्रस्तुत

  माघ १७, २०७६

काठमाडौं, १७ माघ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको जारी दोस्रो पूर्ण बैठकको आज तेस्रो दिन समूहगत प्रतिवेदन प्रस्तुत गर्ने क्रम शुरु भएको छ । प्रदेश अध्यक्षबाट रिपोर्टिङ सकिएपछि १५ समूहका नेताले आ–आफ्नो समूहगत छलफलबाट आएको प्रतिवेदन पेश गर्ने क्रम शुरु भएको हो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गरेर समूह नेताले प्रतिवेदन प्रस्तुत गरिरहनुभएको छ ।

नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार समूह २ का कमला रोका, समूह ६ का दिननाथ शर्मा र समूह १३ का लेखनाथ न्यौपानेले प्रतिवेदन पेश गरिसक्नुभएको छ । बैठकमा समूहबाट आएका टोली नेताको प्रस्तुति र नेतृत्वको जवाफ दिन यही माघ १९ गतेको समय निर्धारण गरिएको छ । बैठकमा सचिवालय र स्थायी कमिटीका निर्णयमाथि छलफल तथा अनुमोदनको कार्यसूची पनि छ ।

प्रदेश १ का अध्यक्ष देवराज घिमिरे, प्रदेश २ का अध्यक्ष प्रभु साह, वाग्मती प्रदेशका अध्यक्ष नारायणप्रसाद दाहाल, गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, प्रदेश ५ का अध्यक्ष ओनसरी घर्ती, कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटी, सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापा, सम्पर्क समन्वय कमिटीका अध्यक्ष प्रल्हाद बुढाथोकी, उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष डा राजन भट्टराई र प्रवास समन्वय कमिटीका अध्यक्ष युवराज चौलागार्इंको प्रतिवेदन पेश भएको छ ।

तपाईको प्रतिक्रिया