प्रदेश दूध विकास बोर्ड विधेयक पारित

  माघ १७, २०७६

हेटौँडा, १७ माघ : वाग्मती प्रदेशसभाको आज बसेको बैठकले प्रदेश दूध विकास बोर्ड २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ लाई सर्वसहमतिले पारित गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दाबा दोर्ज लामाले उक्त बैठकमा सो विधेयक पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

सोही बैठकमा मन्त्री लामाले छलफलमा सदस्यहरूले उठाउनुभएका जिज्ञासाको उत्तर दिनुहुँदै प्रदेशभित्र दूधजन्य पदार्थको उत्पादनका लागि दूध विकास बोर्ड ऐनको मातहतमा रही दूध उत्पादन गर्ने प्रशासकीय भवनको निर्माण, उपकरण खरीद गर्न र कृषकलाई पशुपालनका लागि ऋण उपलब्ध गराउने कार्यप्रति प्रमाणित गर्न ऐनमा थप संशोधन गर्न आवश्यकता परेको बताउनुभयो ।

उहाँले ऐनले तोके अधिकार अनुसार, बोर्डको उपाध्यक्ष, सदस्य सचिव र सदस्य नियुक्ति गर्ने प्रक्रियामा पारदर्शी र निष्पक्षताका साथ अपनाइने विश्वास व्यक्त गर्नुहुँदै कृषकले गुणस्तरीय उत्पादन गरेको दूधलाई विकास बोर्डले खरीद गर्दा प्रचलित मूल्यभन्दा केही रकम थप अनुदानको रूपमा उपलब्ध गराउने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो ।

सो बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशभित्र सुशासनको प्रत्याभूति गर्न बनेको विधेयक २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनि प्रस्ताब टेबुल गर्नुभएको थियो । सो बैठकमा दूध विकास बोर्डको विधेयकमाथि प्रदेशसभा सदस्यले छलफलमा सहभागी हुँदै विगतको समयमा दूध विकास बोर्डको ऐन पारित भई प्रदेशभित्र आफ्नो कार्यक्षेत्र तोकी सञ्चालन गर्नुपर्नेमा हालसम्म कृषकको घरदैलोमा मापदण्ड अनुरुपको कार्यक्रम पु¥याउन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

प्रदेशससभा सदस्यहरूले दूध विकास बोर्डले प्रदेशका १३ जिल्लामा विपन्न कृषक परिवारको छनोट गरी पशुपालनलाई क्रमशः अनुदान उपलब्ध गराउन, दूध उत्पादन क्षेत्रमा चिस्यान केन्द्रको स्थापना गर्न र कृषकले उत्पादन गरेको धुलो दूधलाई प्याकिङ गरी अन्तरराष्ट्रिय बजारसम्म पु¥याउने प्रविधि भित्र्याउन सरकारलाई आग्रह गर्नुभयो ।

उहाँहरूले सम्बन्धित जिल्लामा कर्मचारीको नियुक्ति, विकास बोर्डको कार्यक्षेत्रले गर्ने कार्यसम्पादन, कृषि सडकको अनुदान, पशु उपचार सेवा र प्रशासकीय भवन एवं प्रशासनिक व्यवस्थापनको लागि दलगत स्वार्थभन्दा माथि उठेर समान व्यवहार गर्न पनि सुझाव प्रस्तुत भएको थियो ।

आजै बसेको दोस्रो बैठकको शून्य समयमा बोल्नु हुने प्रदेशका सदस्यहरूले राष्ट्रिय सरोकारका विषयमा सङ्घीय र प्रदेश सरकारको ध्यानाकर्षण गरी सम्बन्धित पक्षलाई कारवाहीको दायरामा ल्याउन माग गर्नुभयो । उहाँहरूले गोकर्ण रिसोर्टका सन्दर्भमा सङ्घीय सरकारले गरिएको सम्झौतालाई तीव्र जनगुनासो बढेकाले उच्चस्तरीय छानबिन टोली गठन गरी सत्यतथ्य घटनाको यर्थाथ विवरण बाहिर ल्याउन माग गर्नुभयो ।

उहाँहरूले सङ्घीय सरकारले सन् २०२० लाई भ्रमण वर्षका रूपमा उच्च प्राथमिकता दिइएको अवस्थामा मकवानपुरको दामनस्थित पानोरामा रिसोर्टमा भएको भारतीय पर्यटकको मृत्युको घटनाले भ्रमण वर्षलाई नराम्रो असर पुगेको चर्चा गर्दै सरकारले अब उच्चस्तरीय सुविधायुक्त होटलको प्रत्यक्ष अनुगन गरी मापदण्डअनुरुप नभए दर्ता खारेज गर्न सल्लाह दिनुभयो ।

प्रदेशको हेटौंडामा हुने नियमित बैठकमा भाग लिन आउँदा काठमाडौंँ हेटौँडाको सडक सञ्जाल अत्यन्तै अवस्था नाजुक रहेकाले प्रदेश सरकारले यसै चालु आर्थिक वर्षभित्रै हेटौँडा–कुलेखानी सडकको स्तरोनति गर्न सरकारले आवश्यक निर्माणको प्रक्रिया थालनी गर्न बहुसङ्ख्यक सदस्यको जोडदार माग थियो ।

सो बैठकको शून्य समयमा बोल्नु हुने प्रदेशसभाका सदस्य आशामाया तामाङ, रमेश पौडेल, रजनी अमात्य जोन्छे, गणेशप्रसाद दुलाल, देवकी श्रेष्ठ, छिरिङ दोर्जे लामा, मैना अछामी, शोभा शाक्य, सरस्वती बस्नेत, सरस्वती बाटी, रामलाल महत्तो, योगेन्द्रराज सङ्ग्रौला, जगतबहादुर सिमखडा र बुद्धिमान माझी हुनुुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया