उपन्यास ‘पेरिस्कानो’ लोकर्पण

  माघ १७, २०७६

काठमाडौं, १७ माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले धादिङकी नीरु त्रिपाठीद्वारा लिखित उपन्यास ‘पेरिस्कानो’ को आज यहाँ लोकर्पण गर्नुभएको छ ।

सो अवसरमा उहाँले साहित्यले पर्यटन प्रवद्र्धनदेखि संस्कृति र सम्पदाको संरक्षणमा समेत टेवा पु¥याइरहेको बताउनुभयो । “साहित्य बिनाको समाज कल्पनासमेत गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “साहित्यले समाजको वास्तविक चित्रण गर्दै समाजलाई दिशानिर्देश गर्ने काम गरिरहेको हुन्छ ।”

मन्त्री भट्टराईले कला साहित्यको माध्यमबाट नेपाल भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन सहयोग मिल्ने भन्दै कलाकार र साहित्यकारका सिर्जनाले मानिसलाई छिटो आकर्षित गर्ने बताउनुभयो । “कला र साहित्यले जो कोहीलाई प्रभावित पार्छ”, उहाँले भन्नुभयो, “कलाकारहरूले साथ दिने अभियान प्राय सफल हुने गरेका छन् ।”

पूर्वराजदूत लक्की शेर्पाले अष्ट्रेलियामा बस्ने विद्यार्थीको कथामा आधारित उपन्यासले अष्ट्रेलियामा अध्ययन गर्न जाने नेपालीको वास्तविकता उजागर गरेको बताउनुभयो । उहाँले अष्ट्रेलियाका मोहका कारण कैयौँ विद्यार्थीले त्यहाँ पुगेपछि दुःख पाउने गरेको उल्लेख गर्दै पिआर, भिसा, डिभोर्स, फेक म्यारिज जस्ता समस्याले नेपाली विद्यार्थीहरू समस्यामा पर्ने गरेको बताउनुभयो ।

साहित्यकार विप्लव प्रतीकले उपन्यासले प्रेम र जीवन दर्शनलाई बुझ्न सहयोग पु¥याउने बताउँदै लेखकले लेख्ने बेलामा इष्र्या, घमण्ड र लोभ त्यागेमा मात्र स्वतन्त्र र पठनीय सामग्री तयार हुने धारणा व्यक्त गर्नुभयो ।

लेखक त्रिपाठीले सोचाइकै भरमा तयार हुने उपन्यासले समाजको यथार्थता पस्कने भन्दै उपन्यासकारले केही पात्रको माध्यमबाट समाजलाई जागरुक बनाउने कार्यमा सहयोग पु¥याइरहेको बताउनुभयो । “लेख्ने क्रममा शब्द नफुर्दा एउटी गर्भवतीलाई लाग्ने जस्तो व्यथा लाग्थ्यो”, उहाँले भन्नुभयो, “विभिन्न व्यथा र कष्टका बाबजुद एउटा कृतिलाई जन्म दिन सफल भएकी छु ।”

कार्यक्रममा सङ्गीतकार न्ह्यू बज्राचार्य र बुक हिलका प्रकाशक भूपेन्द्र खडकाले पुस्तकले पाठकको ध्यान तान्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया