पाल्पामा दुई औद्योगिक ग्राम स्थापना हुने

  माघ १७, २०७६

तानसेन, १७ माघ : पाल्पाका दुई स्थानीय तहमा औद्योगिक ग्राम स्थापना हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक पूर्वाधार निर्माणका लागि एक करोड ८४ लाख वजेट विनियोजन गरेको छ । औद्योगिक ग्राम स्थापनाका लागि जिल्लाको रामपुर नगरपालिका र तानसेन नगरपालिका छनोटमा परेका हुन् ।

औद्योगिक ग्रामभित्र उद्योग स्थापना गर्न आवश्यक जग्गाको छनोट, सडकको व्यवस्था, विद्युत् प्रसारण लाइन तथा आवश्यकताअनुसार सवस्टेशन, ट्रान्सफर्मर र वैकल्पिक ऊर्जाको स्रोत, गोदाम घरलगायतका संरचना आवश्यक पर्दछन् । कृषि तथा पैदावरमा आधारित र स्थानीयस्तरको मागमा आधारित उद्योग सञ्चालन गर्न उद्योगग्रामको प्राथमिकतामा पर्दछ ।

स्थानीय स्रोतसाधनको प्रयोग गरी स्थानीयतहका नागरिकलाई रोजगारी सिर्जना गर्नका लागि औद्योगिक ग्रामले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । औद्योगिक ग्राम स्थापनाका लागि हिमाली तथा दुर्गम पहाडी क्षेत्रमा ३० र पहाडी क्षेत्रमा ४० रोपनी तथा तराई क्षेत्रमा सात बिघा जमिन हुनुपर्ने व्यवस्था गरिएको छ । औद्योगिक ग्रामबाट राजमार्गसँग जोड्ने पहँुचमार्गको न्यूनतम चौडाई १० मिटर, औद्योगिक ग्रामभित्रको मुख्य सडकको न्यूनतम चौडाई १० मिटर हुनुपर्ने व्यवस्था छ ।

देशभर पहिलो चरणमा ३२ वटा औद्योगिक ग्राम निर्माण हुनेछ । तीमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा ११, प्रदेश. ५ मा ७, वाग्मतीमा पाँच, सुदूरपश्चिम र प्रदेश. २ मा तीन÷तीन, कर्णालीमा दुई तथा प्रदेश १ मा एउटा औद्योगिक ग्राम निर्माण हुने सम्झौता भएका छन् । औद्योगिक ग्रामभित्र प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्था, दिवा शिशुस्याहार केन्द्र, अग्निनियन्त्रणको व्यवस्था, सामान प्रदर्शनी तथा बिक्री कक्ष, शौचालय तथा स्नान गृह, पार्किङ, प्राथमिक स्वास्थ्य केन्द्र संरचना तयार गर्नुपर्ने हुन्छ ।

औद्योगिक ग्राम बनिसकेपछि स्थानीय तह वा निजी तथा साझेदारीमा उद्योग सञ्चालन गर्न सकिने व्यवस्था रहेको तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले बताउनुभयो । “स्थानीय तहले उपयुक्त लागेका कृषि, वन पैदावार तथा सेवामूलक उद्योग सञ्चालन गर्न सकिनेछ”, उहाँले भन्नुभयो, “स्थानीयलाई धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्नेखालका उद्योग स्थापना गर्नेछौँ ।” आठ गाउँपालिका तथा दुई नगरपालिका रहेको पाल्पाको तानसेन नगरपालिका–७ मा औद्योगिक ग्राम बनाउनका लागि जग्गा छनोट गरी पठाएको नगर प्रमुख शाहीको भनाइ छ ।

तानसेन नगरपालिकाको पक्लुवा तथा रामपुर नगरपालिकाको वडा नंं ७ को वीरेन्द्रटारमा औद्योगिक ग्राम स्थापनाका लागि जग्गा छनोट गरेर पठाएअनुरुप नै सरकारले औद्योगिक ग्राम स्थापनाको निर्णय गरेको हो । जिल्लाका दुई नगरपालिका जुन व्यापारिक हिसाबले बाक्लो बस्ती र केन्द्रसमेत रहेकाले यसक्षेत्रमा औद्योगिक ग्राम स्थापना हुनु निकै उपयुक्त भएको उद्योग वाणिज्य सङ्घ रामपुरका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताउनुभयो ।

उहाँले पर्यटकीय गन्तव्यका रूपमासमेत विकास गर्ने गरी मझौला र घरेलु उद्योग, स्याहारकेन्द्र, मातृशिशु स्याहारलगायतका काम हुने भएकाले छरिएर रहेका उद्योग एकीकृत हुने, व्यवस्थित शहर निर्माणमा सहयोग पुग्ने, सुविधा सम्पन्न तरिकाले काम हुने र धेरैलाई रोजगार दिन सकिने हुँदा पनि औद्योगिक ग्राम निर्माण हुनु महत्वपूर्ण र खशीको कुरा भएको बताउनुभयो ।

सरकारले प्रदेश ५ मा यो आर्थिक वर्षभित्र ७ वटा औद्योगिक ग्राम स्थापना गर्न स्वकृत गरेसँगै औद्योगिक ग्राम स्थापना गर्न बाटो खुलेको हो । सोही अनुरुप सङ्घ र प्रदेश सरकारको समन्वयमा यी दुबै नगरपालिकाले औद्योगिक ग्रामका लागि डिपिआर निर्माणमा जुटेको छ । नगरपालिकाले प्रस्ताव गरेको जग्गाको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट आएको टोलीले निरीक्षण गरेपछि नगरपालिकाले अघि सारेको जग्गा उपयुक्त ठहरिएको हो । औद्योगिक ग्राम निर्माणका लागि रामपुर र तानसेन नगरपालिकालाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट पहिलो चरणमा रु ९२÷९२ लाख रकम प्राप्त हुने बताइएको छ ।

रामपुर नगरपालिकाको वीरेन्द्रटारमा रहेको ४२ रोपनी जग्गाको डिपिआरको प्रक्रिया अगाडि बढाएको र तीन महिनाभित्र प्रतिवेदन पठाउने नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो । उहाँले नगरपालिकामा छरिएर रहेका साना ठूला उद्योगी व्यवसायीलाई सीपमूलक तालीम पनि नगरपालिकाले दिएको जानकारी दिँदै यसलाई व्यवस्थित गरी महिला तथा युवााई लक्षित गरी साना उद्योगीलाई औद्योगिक ग्राममा समावेश गर्ने लक्ष्य रहेको बताउनुभयो ।

यसका लागि रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्याललाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकेको छ । अर्यालले विशेषगरी मह प्रशोधन, दूध डेरी, चिया कफी, फलफूल प्रशोधन, जडिबुटी प्रशोधन, काठ तथा बेतवास फर्निचर, रेशा उत्पादनजस्ता साना घरेलु उद्योगलाई औद्योगिक ग्रामभित्र स्थापना गर्न प्राथमिकतामा राखिएको बताउँदै यो ग्रामभित्र स्थानीय उत्पादनलाई विशेष जोड दिनेछ भन्नुभयो । स्थानीयस्तरमै औद्योगिक ग्राम स्थापना हुने भएपछि जिल्लाका उद्योगी व्यवसायी उत्साहित भएका छन् ।

तपाईको प्रतिक्रिया