एनटिभी इटहरीको प्रसारण केन्द्र उद्घाटन

  माघ १७, २०७६

इटहरी, १७ माघ : नेपाल टेलिभिजन इटहरी प्रसारण केन्द्रबाट आजदेखि प्रसारण सेवा शुरु गरिएको छ । नेपाल टेलिभिजनको ३५औँं वार्षिकोत्सवका अवसरमा इटहरीबाट प्रसारण थालनी गरिएको केन्द्रको प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट बटन थिचेर आज उद्घाटन गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले भिडियो कन्फेरेन्समार्फत केन्द्र उद्घाटन गर्दै एनटिभी इटहरी प्रसारण केन्द्रले प्रदेश १, २ दुई तथा सिङ्गो राष्ट्रको समृद्धिमा टेवा पु¥याउने आशा व्यक्त गर्नुभयो । अहिले सरकारले अघि सारेको ‘हरेक दिन एक कदम’ अगाडि भन्ने सरकारको लक्ष्यलाई यसले सघाउ पु¥याउने आशासमेत व्यक्त गर्नुभयो । केन्द्रले नेपालको पूर्व क्षेत्रका धार्मिक, सांस्कृतिक विशिष्टतालाई उजागर गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

कार्यक्रमका सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्नो क्षमता, दक्षता र योग्यताका आधारमा मात्र मर्यादित र गुणस्तरीय पत्रकारिता गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । नेपाल टेलिभिजनले अब केही समयपछि अङ्ग्रेजी भाषामा एनटिभी वल्र्ड च्यानलका रूपमा चौबीसै घण्टा प्रसारण गर्न लागेको जानकारी पनि उहाँले दिनुभयो ।

“एनटिभीलाई सशक्त सञ्चारमाध्यमको रूपमा स्थापित गरिने छ, अब देशलाई डिजिटल रुपान्तरण गरिने छ, धरानमा डाटा सेण्टरसमेत बनाइने छ”, उहाँले भन्न्ुभयो । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले इटहरी च्यानल एनटिभीको पाँचौँ च्यानल भएको बताउँदै केन्द्रले स्वायत्त निकायका रूपमा प्रसारण सेवा पु¥याउने उल्लेख गर्नुभयो । महाप्रबन्धक गोविन्द रोकाले केन्द्रले उच्चस्तरीय उपकरणका साथ प्रसारण सेवा दिने बताउनुभयो ।

कार्यक्रममा प्रदेश १ का कानून तथा आन्तरिक मामिलामन्त्री हिक्मतकुमार कार्कीले इटहरीलाई स्मार्ट सिटी बनाइने बताउनुभयो । सांसद सर्वध्वज साँवा र इन्दु गौतम, धरान उपमहानगर प्रमुख तिलक राई तथा इटहरीका नगर प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले एनटिभी प्रसारणको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया