‘शहीद धर्मभक्त माथेमा पार्क’ निर्माण

  माघ १७, २०७६

काठमाडौं, १६ माघ : काठमाडौं महानगरपालिकाले ‘शहीद धर्मभक्त माथेमा पार्क’ निर्माण गरेको छ । शहीद माथेमाको सम्झनामा कामपा–२३ ओमबहालस्थित निर्माण गरेको सो पार्कको आज कामपाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गर्नुभयो ।

शहीद सप्ताहको अन्तिम दिन माथेमाको पुख्र्यौली घर रहेको ओमबहालमा उहाँको सम्झना चीरकालसम्म पु¥याउन पूर्ण कदको सालिकसहित पार्क निर्माण गरिएको हो । करीब ६५ लाखको लागतमा सालिकसहित पार्क निर्माण भएको कामपाले जनाएको छ । सो अवसरमा प्रमुख शाक्यले सालिकबाटै शहीदहरुलाई चिन्न सकियोस् भनेर चारै शहीद (धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ)को सालिक निर्माण गरेको बताउनुभयो ।

प्रमुख शाक्यले शहीद धर्मभक्तकै सम्झनामा बूढानीलकण्ठ नगरपालिकाको बूढानीलकण्ठमा शहीद धर्मभक्त मानवसेवा आश्रम भवन’ निर्माण गर्ने तयारीमा रहेको पनि जानकारी गराउनुभयो । बुधबार शहीद गङ्गालालको सम्झनामा गङ्गालाल हृदय केन्द्रमा अक्सिजन प्लाण्ट राख्न कामपाले सम्झौता गरिसकेको छ । कामपाका तत्कालीन उपसभापति प्रयागराज सिंह सुवालले शहीदहरुको सम्झनामा प्रशंसायोग्य काम गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

त्रिभूवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले ‘शहीदहरुको सम्झनामा ८० वर्षपछि भए पनि यसरी सालिक बन्नु सकारात्मक सङ्केत रहेको बताउनुभयो । वडा नं– २३ का वडाध्यक्ष मचाराजा महर्जनले ९ आना २ पैसा जमिनमा पार्क निर्माण भएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया