समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्छ : प्रधानमन्त्री

  माघ १५, २०७६

काठमाडौं, १६ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवनमा खुशी भर्न हामीले समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्ने बताउनुभएको छ ।

वसन्तपञ्चमीका अवसरमा उहाँले आज दिनुभएको शुभकामना सन्देशमा सरकारले नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट सम्पन्नतातिर र अव्यवस्थाबाट सदाचारतिर अघि बढाउँदै लगेको बताउँदै प्रधानमन्त्री ओलीले समाजमा सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक रहेकामा जोड दिनुभएको छ ।

उहाँले वैदिक कालदेखि नै प्रज्ञाप्रकाशको प्रतीकका रुपमा सरस्वती पूरा गरी मनाइँदै आएको यस पर्वका अवसरमा काव्यविनोदी स्रष्टा, सर्जक, साहित्य, सङ्गीत, कला साधक तथा ज्ञानका अध्येतामा समेत शुभकामना व्यक्त गर्नुभएको छ ।

“वैदिक मान्यताअनुसार सरस्वतीका शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र यन्त्रलाई नादको स्रोत मानिन्छ, त्यसैले उनको वीणाबाट ब्रह्माण्डमा स्वर, सङ्गीत, ताल र लयको, शब्दबाट ज्ञानको र अक्षरबाट भावको उत्पत्ति भएको मानिन्छ, सभ्यताको विकासक्रमसँगै सरस्वतीलाई बौद्धमार्गीहरुले मञ्जुश्रीका नामले समेत पूजा गर्ने गरेका छन्, यसरी असल वा खराबको पहिचान गर्ने प्रकाशमय बुद्धि, संयम र विवेकको प्रतीकका रुपमा सरस्वतीलाई लिइन्छ”, सरस्वती पूजाका अवसरमा दिइएको उहाँको सन्देशमा उल्लेख छ ।

सन्देशमा भनिएको छ, “यस दिनलाई ससाना बालबालिकाको अक्षरारम्भ गर्ने दिवसका रुपमा पनि लिइन्छ । वेदाङ्ग ज्योतिषकालदेखि सनातन रुपमा मनाइँदै आएको यस पर्वको प्राकृतिक काल विभाजनसँग पनि सम्बन्ध छ । सोअनुसार एक वर्षलाई छ ऋतुमा विभाजन गरी माघ शुक्ल पञ्चमीलाई वसन्त ऋतुको आरम्भका रुपमा लिइएको छ ।

वसन्तऋतुलाई सृष्टिकारक तथा मनोविनोदको ऋतुका रुपमा पनि लिइन्छ । वसन्त शुरु भएपछि फूलहरूमा बहार आउँछ, पुष्पसुगन्ध फैलिन्छ, रुखहरुमा पालुवा पलाउन थाल्छ र मानिस, चराचुरुङ्गी र रङ्गीन पुतलीहरुको मन फुरुङ्ग हुन्छ भन्ने विश्वास छ । सरस्वतीलाई विद्याकी देवीका रुपमा पूजा गर्ने हाम्रो प्राचीन ज्ञानशास्त्रीय प्रचलन छ ।”

तपाईको प्रतिक्रिया