व्यवसाय दर्ता गर्नेसम्बन्धी विधेयकमाथि छलफल

  माघ १५, २०७६

धनगढी, १५ माघ : सुदूरपश्चिम प्रदेशसभाको आज बसेको बैठकमा निजी व्यवसाय दर्ता गर्ने र साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ माथि छलफल भएको छ ।

छलफलमा भाग लिने सदस्यले सरोकारवाला एवं विज्ञसँग थप छलफल गरेर प्रस्तुत विधेयकका कतिपय बुँदा परिमार्जन गर्न जरुरी देखिएको बताउनुभयो । उहाँहले कुनै पनि व्यवसाय गर्न चाहनेको व्यवसाय दर्ताको काम निःशुल्क र सहज ढङ्गको बनाई दर्ता गर्ने बाटो सहज बनाइदिने खालका ऐन कानून बनाउनुपर्ने बताउनुभयो । कतिपय सदस्यले कार्यान्वयनमा जान नसक्ने खालका विधेयक ल्याउन नहुने बताउनुभयो ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीका तर्फबाट छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले विधेयकमा भएका कमीकमजोरीलाई परिस्कृत गर्न सकिने बताउनुभयो ।

यसअघि उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीको तर्फबाट सामाजिक विकासमन्त्री सुवेदीले निजी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ माथि छलफल गरियोस् भनी छुट्टाछुट्टै रुपमा पेश गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

विधेयकमाथि भएको छलफलमा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बलदेव रेग्मी, अमरबहादुर साउद, महेशदत्त जोशी र शान्ति नेपाली र प्रतिपक्षी नेपाली काँग्रेसका अम्बीकुमारी थापा, कुमारीनन्दा बम र टेकबहादुर रैकाले भाग लिनुभएको थियो । अर्को बैठक यही माघ १७ गते दिउँसो १ बजे बस्ने छ ।

तपाईको प्रतिक्रिया