६ एचआइभी सङ्क्रमितले सुरक्षित बच्चा जन्माए

  माघ १४, २०७६

चितवन, १४ माघ : जिल्लाका विभिन्न क्षेत्रमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा १०६ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् ।

भरतपुर अस्पतालमा रहेको एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) सेन्टरका अनुसार सन् २०१९ मा २० हजार ६४६ को परीक्षणका क्रममा ती नयाँ सङ्क्रमण भेटिएको हो । सङ्क्रमितमध्ये १०४ ले नियमित औषधि सेवन गर्दै आएका छन् । सङ्क्रमितको सङ्ख्या ९९१ पुगेको छ ।

सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार एचआइभी सङ्क्रमितलाई क्षयरोगबाट जोगाउन ७०२ लाई औषधि प्रदान गरिएको छ । गत वर्षमा छ सङ्क्रमितले सुरक्षित बच्चा जन्माएका छन् ।

गत वर्ष १३ सङ्क्रमितले औषधि सेवन गर्न छाडेका छन् । औषधि सेवन गर्न छाड्नेमध्ये छ जनाले आयुर्वेदिक औषधि सेवन गर्ने गरेको, पाँचले धर्म परिवर्तन गरेर औषधि सेवन नगरेको र दुईले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेका कारण औषधि सेवन नगर्ने गरेको सापकोटाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया