कञ्चनपुरको कृष्णपुरमा नमूना भैंसी फार्म बन्ने

  माघ १३, २०७६

धनगढी, माघ १३ – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नमूना भैंसी फार्म स्थापना गरी सञ्चालनमा ल्याउने भएको छ । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चार करोडको लागतमा नमूना भैंसी फार्म स्थापना गर्न कृष्णपुर नगरपालिकासँग छलफल थालेको छ । मन्त्रालयका निमित्त सचिव तथा प्रवक्ता खगेन्द्रप्रसाद शर्माले सो फार्म स्थापनाका लागि जग्गा खोज्ने, कार्यविधि बनाउने र फार्म स्थापनाको मोडेल तयार गर्ने काममा मन्त्रालय लागेको बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले प्राथमिकताका साथै यसै वर्षदेखि कञ्चनपुर जिल्लामा स्थानीय तहसँगको लागत साझेदारीमा नमूना भैंसी फार्म सञ्चालन गर्ने कार्यक्रम ल्याएको छ । पशुपंछी तथा मत्स्य विकास निर्देशनालयबाट सो फार्म सञ्चालनका लागि कार्यविधि बनाएर मन्त्रीपरिषद्मा पठाइसकेको शर्माले बताए ।

मन्त्रालयले उन्नत जातका भैंसी खरिदका लागि ३० लाख र राँगा खरिदका लागि दुई लाख रुपैयाँ अलग्गै छुट्याएको छ । चार करोड रुपैयाँ भैसी फार्म स्थापनाका लागि कार्यविधि तयार गर्न, कार्यक्रम सञ्चालन गर्न सरोकारवाला एवम् स्थानीय तहसँग समन्वय तथा छलफल, तथ्यांक संकलन, पशु स्वास्थ्य व्यवस्थापन, क्षमता अभिवृद्धि, नश्ल सुधार तथा पशु आहारा विकास विस्तार, दुध तथा मासुको प्रशोधन तथा बजारीकरण, वैज्ञानिक गोठ, बधस्थल, दुध चिस्यान केन्द्र निर्माण लगायतमा खर्च गरिने मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया