बुद्ध एयर उडान गन्तव्य विस्तार गर्दै

  माघ ११, २०७६

काठमाडौं, ११ माघ : निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले विभिन्न गन्तव्यमा उडान विस्तार गर्ने भएको छ । कम्पनीले यही माग १८ गते शनिबारदेखि पदेश नं २ को राजविराजमा उडान शुरु गर्दैछ भने क्षेत्रीय उडानका रूपमा माघ २० गतेदेखि विराटनगरबाट पोखरा उडान सञ्चालन गर्ने जनाएको छ ।

बुद्धले काठमाडौं–राजविराज दैनिक उडान गर्नेछ । उडानको समय काठमाडौंबाट ११ः२५ र राजविराजबाट १२ः२० निर्धारण गरिएको विज्ञप्तिमार्फत जनाएको छ । यो गन्तव्यको उडान अवधि झण्डै ३५ मिनेटको हुनेछ । राजविराज उडानले सप्तरी, उदयपुर, सिरहा तथा सुनसरीका यात्रुहरूलाई सुविधा पुग्नेछ । दैनिक उडानले पर्यटन प्रवद्र्धनका साथै नेपाल भ्रमण वर्ष २०२० अभियानलाई समेत टेवा पुग्ने कम्पनीको विश्वास छ ।

राजविराज धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण शहर हो । यहाँबाट छिन्नमस्ता, बराहक्षेत्र, कोशीटप्पु, सलहेश गहवरका साथै अन्य थुप्रै पर्यटकीय गन्तव्यसम्म सजिलै पुग्न सकिन्छ । राजविराज उडानले सीमापारिका सहरसा, सुपौल, निर्मली, वीरपुर, राघोपुर, पिपरा, मधेपुरा, प्रतापगञ्ज, झन्झारपुर, सकरी, घोघडिया, लौकहालाई पनि सजिलैसँग जोड्न सकिने र यसबाट दुवै देशका पर्यटकलाई फाइदा पुग्ने जनाइएको छ । राजविराज विमानस्थलमा निजी क्षेत्रको अर्को वायु सेवा प्रदायक कम्पनीले सातामा तीन दिन उडान गर्दै आएको छ ।

बुद्ध एयरले क्षेत्रीय उडान विस्तारका क्रममा पोखरा–विराटनगर रुटमा पनि उडान गर्न लागेको छ । यो गन्तव्यमा उडान अवधि एक घण्टा पाँच मिनेटको हुनेछ । यो रुटमा साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान हुने कम्पनीले उल्लेख गरेको छ । कम्पनीले क्षेत्रीय उडानका रूपमा यसअघि पोखराबाट चितवन र भैरहवा उडान गर्दै आएको छ । बुद्ध एयरसँग एटिआर ११ र दुई बिजक्राफ्ट गरी १३ जहाज सञ्चालनमा छ ।

तपाईको प्रतिक्रिया