सातामा साढे ६ अर्ब माथिको सेयर कारोबार

  माघ ०४, २०७६

काठमाडौं, माघ ४ (रासस)– गत साता धितोपत्र बजारमा सेयर कारोबारमापक नेप्से परिसूचकले उकालो यात्रा तय गर्दै नयाँ इतिहास कायम गœर्यो । बजार उकालो लाग्ने क्रम बढ्दै गर्दा झण्डै डेढ वर्ष पहिलेको अवस्थामा पुग्यो । नेप्सेको उकालो यात्रासँगै बजार एक हजार ३०० विन्दु माथि पुगेर ‘बुलिस ट्रेन्ड’ लाई स्थापित ग¥यो ।

लगानीकर्तामा विश्वास बढेसँगै बजारले नयाँ गति समेटेको जानकारले टिप्पणी गरेका छन् । साताभर पाँच कारोबार दिनमा बजार नयाँ विन्दुमा पुगेर बन्द भएको छ । साताभर कूल एक सय ८३ कम्पनीका दुई करोड ११ लाख ९७ हजार एक सय ९५ कित्ता सेयर ६ अर्ब ६७ करोड २० लाख ६१ हजार नौ सय ३२ मा खरिदबिक्री भयो ।

साताको पहिलो दिन आइतबार नेप्से ४२.६१ विन्दुले बढ्यो । सो दिन कूल एक सय ७९ कम्पनीका ३८ लाख ३१ हजार ५४ कित्ता सेयर एक अर्ब ३३ करोड ५७ लाख ४७ हजार नौ सय ६७ मूल्यमा खरिद बिक्री भए । सोमबार नेप्से परिसूचक १५.१४ विन्दुले बढ्दा एक सय ८३ कम्पनीका ५५ लाख १८ हजार ६ सय ३६ कित्ता सेयरको एक अर्ब ७० करोड ५० लाख ६० हजार ६ सय ६४ रुपैयाँ बराबर कारोबार भयो ।

आइतबार र सोमबार बजार बढ्दा मंगलबार भने परिसूचक नकारात्मक दिशामा मोडियो । मंगलबार नेप्से परिसूचक ७.४८ अंकले घट्यो । उक्त दिन एक सय ८३ कम्पनीका ३७ लाख ६६ हजार नौ सय ८२ कित्ता सेयर एक अर्ब दुई करोड ६४ लाख ४३ हजार ६ सय ६६ रुपैयाँमा खरिद बिक्री भए ।

माघको पहिलो दिन परिसूचक २०.८५ अंकले बढेर कूल एक सय ७७ कम्पनीका ३० लाख ५५ हजार दुई सय ३३ कित्ता सेयरको ९० करोड ४८ लाख १३ हजार नौ सय ३२ रुपैयाँमा कारोबार भयो । साताको अन्तिम दिन पनि परिसूचक बढ्ने क्रमले निरन्तता पायो । बिहीबार नेप्सेमा २६ अंकको सुधार देखियो । बिहीबार कूल ५० लाख २५ हजार पाँच सय ६३ कित्ता सेयरको एक अर्ब ६९ करोड ९९ लाख ९५ हजार एक सय सात रुपैयाँमा कारोबार भयो ।

यस्तै यो साता नेप्सेमा दुई कम्पनीका सेयर सूचीकृत भए । ग्लोबल आइएमई बैंक र जनता बैंकको मर्जरपछि सात करोड २० लाख ८७ हजार ८१ कित्ता र सिर्जना फाइनान्सका २७ लाख ६४ हजार ६ सय ९२ कित्ता हकप्रद सेयर सूचीकृत भए ।

तपाईको प्रतिक्रिया