पर्यटन बोर्डले आइतबार नयाँ सिइओ पाउँदै

  माघ ०४, २०७६

काठमाडौं, माघ ४ (रासस)– मुलुकको पर्यटन क्षेत्रको निम्ति आकर्षक पद मानिएको नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि तीव्र प्रतिस्पर्धा भइरहेको छ । लाभ र सेवा सुविधा मात्र हैन राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विभिन्न अवसर पाइने भएकाले पनि बोर्डको सिइओको छुट्टै आकर्षण छ ।

आर्थिक हिसाबले पनि बैंकपछि सबैभन्दा आकर्षक बोर्डको सिइओ मानिन्छ । बोर्ड सार्वजनिक निजी साझेदारीको नमूना संस्था हो । सरकारी पाँच र निजी क्षेत्रका ६ गरी ११ जना बोर्ड सञ्चालक समिति सदस्य रहने व्यवस्था छ । सिइओको प्रतिस्पर्धाको दौडमा अहिले नौ उम्मेदवार सम्पूर्ण शक्ति र सामाथ्र्यका साथ लागि परेका छन् । प्रतिस्पर्धीमध्ये कसले बाजी मार्ने हो त्यो चाही आइतबार टुंगो लाग्नेछ ।

बोर्डको सिइओ बन्नका लागि अहिले प्रारम्भिक छनोटमा परेका नौ जनाको प्रस्तुतीकरण र अन्तर्वार्ता भइसकेको छ । शुक्रबारदेखि आजसम्म सबै प्रतिस्पर्धीको प्रस्तुतीकरण सकिएको छ । प्रतिस्पर्धी सबैको प्रस्तुतीकरण राम्रो रहेको तर तिनैमध्ये उत्कृष्टताका आधारमा तीन जनालाई सिफारिस गरिने छनोट समितिका सदस्य विप्लव पौडेलले जानकारी दिए ।

छनोट समितिले प्रतिस्पर्धीको प्रस्तुतीकरण र अन्तर्वार्तापछि नम्बर दिइसकेको छ । प्रतियोगीको नम्बर सिलिङ भइसकेको र आइतबार बोर्डका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालका सचिव केदारबहादुर अधिकारीसँग छनोट समितिको बैठक बसी बोर्डको सिइओका लागि तीन सदस्यीय प्रतिस्पर्धीलाई सिफारिस गर्नेछ । समितिको सिफारिसपछि बोर्ड सञ्चालक समिति आइतबार साँझसम्म तीनजनामध्ये एक अब्बल उम्मेदवारलाई बोर्डको सिइओ नियुक्त गरिनेछ । बोर्डको सिइओको कार्यकाल चार वर्षको हुनेछ ।

बलिया प्रतिस्पर्धीबीच उपयुक्त उम्मेदवार छान्न कत्तिको कठिन हुँदोरहेछ भनी सोधिएको जिज्ञाशामा छनोट समितिका सदस्य पौडेलले प्रतिस्पर्धी सबै सक्षम र सवल भए पनि प्रक्रियागत ढंगले सिइओ छनोट गर्नुपर्ने भएकाले कुनै कठिनाइ नभएको अनुभव सुनाए । बोर्डको सिइओको प्रतिस्पर्धाका लागि निवेदन दिएका १७ प्रतियोगीमध्ये उनीहरूको शैक्षिक प्रमाणपत्र र अनुभवका आधारमा ‘सर्टलिस्ट’ गरिएको थियो ।

सर्टलिष्टमा परेका नौ जनालाई विज्ञसहितको सहभागितामा समितिले प्रस्तुतीकरण र अन्तर्वार्ता लिएको थियो । समितिका दुई विज्ञका रूपमा पूर्वपर्यटन सचिव कृष्णप्रसाद देवकोटा र पर्यटन व्यवसायी सागर पाण्डे थिए । बजारमा हल्ला आएजस्तो सिइओ छनोटमा कुनै पनि किसिमको दबाब र प्रभाव नआएको सदस्य पौडेलले बताए । उनले भने, ‘बोर्डको सिइओ छनोट प्रक्रियागत ढंगले अघि बढेको हो, यसमा कुनै दबाब आएको छैन, कुनै प्रभाव पनि परेको छैन, निष्पक्ष र स्वतन्त्ररूपमा उत्कृष्ट व्यक्ति छनोट गर्छौं ।’

बोर्डको सिइओ छनोटका लागि सिफारिस गर्न पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, बोर्डका सञ्चालक समिति सदस्य पौडेल र कृष्णबहादुर महरा सम्मितलित उपसिमित बनाइएको थियो । प्रारम्भिक छनोटमा परेका नौ प्रतिस्पर्धीको प्रस्तुतीकरणपछि उनीहरूमध्येबाट उपसमितिले तीन जनाको नाम बोर्डलाई सिफारिस गर्ने बोर्डका पूर्वसचिवायल सदस्य केबी रानाले बताए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष रहेको बोर्ड सञ्चालक समितिले सिइओ नियुक्त गर्ने व्यवस्था छ । समितिले बनाएको सिइओ छनोट कार्यविधि मातहत रही सिइओका लागि आवेदन माग गरेको थियो । गत मंसिर १८ गते प्रकाशित विज्ञापनपछि १७ जनाले आवेदन दिएका थिए ।

त्यसमध्येबाट उपसमितिले काशिराज भण्डारी, दीपक बस्ताकोटी, दीपकराज जोशी, धनञ्जय रेग्मी, नवीन पोखरेल, बच्चुनारायण श्रेष्ठ, रोहिनीप्रसाद खनाल, सन्तोषविक्रम थापा र हिकमत सिंह ऐरको नाम छनोट गरेको थियो । प्रतिस्पर्धी उम्मेदवारमध्ये निवर्तमान सिइओ जोशी र हाल भ्रमण वर्ष सचिवालयमा सदस्य सचिव रहेका बच्छुनारायण श्रेष्ठको नाम अग्रपंतिमा छ । जोशी कूशल अनुभव भएका व्यक्ति हुन् भने श्रेष्ठ पनि सबै हिसाबले अब्बल उम्मेदवार ठहरिएक छन् ।
राष्ट्रिय शक्ति सन्तुलनका हिसाबले बच्छुको बलियो सम्भावना छ । तर, बोर्डको अघिल्लो कार्यकालमा पनि सिइओ भइसकेका र विषयवस्तुलाई सरल तथा सहज ढंगले प्रस्तुत गर्ने कुशल खुबी भएका जोशी पनि रोजाइएका उम्मेदवार हुन् । यद्यपि, दुईमध्ये कसले बाजी मार्ने हो त्यसका लागि कम्तीमा दुई दिन कुर्नैपर्छ । बोर्डको सिइओका प्रतिस्पर्धी जोशीले व्यावसायिक तथा स्वतन्त्र व्यक्तिको रोजाइमा आफू रहेको र एक पटक बोर्ड नेतृत्वका लागि अहिलेका समय सान्दर्भिक आवश्यकता भएकाले पनि केही सम्भावना रहेको बताए ।

अर्का प्रतिस्पर्धी श्रेष्ठले सिइओ छनोट प्रक्रियामा आफू परीक्षार्थीका रूपमा सबै प्रक्रिया पूरा गरेको व्यक्ति भएकाले अहिले केही प्रतिक्रिया नदिने बताए । माघको पहिलो साताभित्रै सिइओको टुंगो लाग्ने बोर्डका निमित्त सिइओ नन्दिनी लाहे थापाले बताए । बोर्डको सिइओको आकर्षणसँगै चुनौती पनि उत्तिकै छ । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउनु मुख्य जिम्मेवारी हुनेछ भने पर्यटन क्षेत्रका चार दर्जनबढी संस्थालाई रिझाउनु र निजी क्षेत्रको साझेदारितालाई व्यावसायिक र प्रभावकारी बनाउनु पनि गहन जिम्मेवारी हुनेछ । राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका गतिविधिसँगै देशभित्र नयाँ गन्तव्य पहिचान तथा प्रवद्र्धन र अन्तर्राष्ट्रिय पर्यटन बजारको खोजी गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया