समृद्धिका लागि आन्तरिक लगानी बढाऊ : उद्योग मन्त्री

  पुष २९, २०७६

चितवन, २८ पुस : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आन्तरिक लगानीलाई आकर्षित नगरेसम्म मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताउनुभएको छ ।

उद्योग वाणिज्य सङ्घ चितवनको ५३औँ साधारणसभा एवं अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले आन्तरिक लगानीलाई आकर्षित र व्यवस्थापन नगरी बाह्य लगानी जति ल्याए पनि त्यो मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताउनुभयो ।

स्वदेशी उद्योगी व्यवसायीलाई बढीभन्दा बढी लगानीमा आकर्षित र व्यवस्थापन गर्न सक्नुपर्ने भन्दै उहाँले त्यसपछि मात्र बाह्य लगानीको कुरा गर्नुपर्नेमा जोड दिनुभयो । बाह्य लगानी आउनेतिर आकर्षण बढेको भन्दै उहाँले लगानीको सुरक्षामा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

सरकार र निजी क्षेत्रमा देखिएका कमि कमजोरी दुवै क्षेत्रले सच्याउनुपर्छ भन्दै उहाँले भन्नुभयो, “उद्योगी व्यवसायीको देश बनाउन र विकासमा महत्वपूर्ण भूमिका छ तर कहिनकही कमी कमजोरी छ । आफूभित्रका कमी कमजोरीलाई समीक्षा गरौँ ।” निजी लगानीको अनुकूल नभए परिमार्जन र नयाँ बनाउन सकिने भन्दै त्यो खालको कार्यविधि बनाउन आफू तयार रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य गीता वाग्ले, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उद्योग वाणिज्य महासङ्घ वाग्मती प्रदेशका उपाध्यक्ष राजन गौतम, धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल, उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेल, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधानलगायतले बोल्नुभएको थियो ।

सो अवसरमा रु ५१ हजार राशिको उत्कृष्ठ आर्थिक पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका चितवन समाचारदाता रमेशकुमार पौडेललाई पुरस्कृत गरिएको थियो । त्यस्तै रु एक लाखको हीरालाल सन्तुदेवी प्रधान युवा उद्यमी पुरस्कार राइनो वाटर इन्टरटेण्टमेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेललाई प्रदान गरिएको थियो ।

अविधेशनले मङ्गलबार नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्ष पदका लागि ज्ञानेन्द्रमान शाक्य र राजु श्रेष्ठको उम्मेदवारी परेको छ । सङ्घमा जिल्लाभरका तीन हजार ७८२ सदस्य रहेका छन् । (रासस)

तपाईको प्रतिक्रिया