दमौली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

  पुष २९, २०७६

दमौली, २८ पुस (रासस) : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दमौली अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा स्तरवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । दमौली अस्पताल व्यवस्थापन समितिले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री गुरुङले अस्पतालको स्तरोन्नतिको गरी प्रादेशिक अस्पताल बनाउने बताउनुभयो ।

अस्पतालको बारेमा विस्तृत अध्ययन गर्न तत्काल प्राविधिक टोली पठाउने र आफूले पनि स्थलगतरुपमै अध्ययन गर्ने भन्दै मुख्यमन्त्री गुरुङले प्राविधिकको प्रतिवेदनपछि थप आवश्यक पूर्वाधारको व्यवस्था गर्न सहज हुने धारणा राख्नुुभयो । मुख्यमन्त्री गुरुङले दमौली अस्पतालको भौतिक एवं अन्य विकासको लागि प्रदेश सरकारको तर्फबाट तत्काल रु तीन करोड बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

छलफलमा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, प्रतिनिधिसभाका सांसदद्वय केदार सिग्देल र कृष्णकुमार श्रेष्ठ ‘किसान’, नेकपा केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, प्रदेशसभाकी सांसद आशा कोइराला, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलगायत सहभागी हुनुहुन्थ्यो । सो अवसरमा अस्पतालका अध्यक्ष प्रदीपराज अधिकारीले अस्पतालको बारेमा जानकारी गराउनुभएको थियो ।

१५ श्यया क्षमताको अस्पतालबाट हाल ४२ श्ययामा सेवा प्रवाह भइरहेको छ । सरकारीतर्फ २४ जना दरबन्दी भएपनि १८ जना मात्रै कार्यरत रहेको र अस्पताल विकास समितिमार्फत् ३३ जना कर्मचारी अस्पतालमा कार्यरत छन् । अस्पतालमा हाल सरकारी दरबन्दीमा एक मेसु, दुई मेडिकल अधिकृत, पाँच स्टाफ नर्स÷अनमी, तीन एचए, एक रेडियोग्राफर, दुई ल्याब टेक्निसियन÷असिस्टेण्ट, दुई प्रशासनतर्फ कर्मचारी र दुई कार्यालय सहायक कार्यरत छन् ।

अस्पतालले आकस्मिक सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायोलिसस सेवासमेत प्रदान गर्दै आइरहेको छ । पन्ध्र रोपनी १४ आना जग्गामा फैलिएको अस्पताल थप जग्गाको अभावमा स्तरोन्नति हुनसकेको छैन ।

२०३४ मा स्वास्थ्यचौकीको रूपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रको रूपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ मा अस्पतालको रूपमा स्तरोन्नति भएको थियो । विसं २०७२ मा अस्पतालको आफ्नै सुविधा सम्पन्न भवन निर्माण भएको थियो । सोही वर्ष अस्पतालमा डायलोसिस सेवा शुरु गरिएको, विसं २०७३ मा मानसिक उपचार केन्द्र स्थापना गरिएको अस्पतालमा विसं २०७४ मा आफ्नै फार्मेसी सञ्चालन गरिएको थियो ।

अस्पतालले आर्थिक वर्ष २०७५÷७६ मा करीब ४० हजारलाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ । मेसु डा पौडेलका अनुसार ओपिडिबाट ३९ हजार ७४२ लाई सेवा प्रदान गरिएको छ । त्यस्तै इमर्जेन्सीमा पाँच हजार २०५, भर्ना भएका एक हजार ५०० जनालाई सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ । अस्पतालले चालु आर्थिक वर्षदेखि नै सेवाग्राहीलाई सुविधा प्रदान गर्न टोकन प्रणाली पनि लागू गरेको छ ।

टोकन प्रणाली लागू भएपछि अस्पतालमा स्वास्थ्य परीक्षण गर्न आउने बिरामीले टिकट काट्नको लागि लाइन बस्नुपर्ने झन्झट हटेको छ । रु दुई लाख ५० हजारको लागतमा जडान गरिएको टोकन मेसिनबाट टोकन लिएपछि सेवाग्राहीले आफ्नो पालोमा सेवा लिन सक्नेछन् । (रासस)

तपाईको प्रतिक्रिया