समितिको निर्देशन टेर्दैन सरकार

  पुष २८, २०७६

काठमाडौं, २८ पुस : राष्ट्रिय सभा, दिगो विकास तथा सुशासन समितिका सदस्यले समितिले पटकपटक सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए पनि कार्यान्वयन नभएको गुनासो गरेका छन् ।

समितिको आजको बैठकमा अधिकांश सांसदले भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासलगायत मन्त्रालयलाई विभिन्न विषयमा निर्देशन दिए पनि कार्यान्वयन नगरी समितिको अपहेलना गरेको भन्दै अहिलेसम्मका निर्देशन कार्यान्वयन भए÷नभएका बारे समितिले नै अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।

समितिका सदस्य दीनानाथ शर्माले अहिलेसम्म समितिले दिएको निर्देशन कार्यान्वयन भए÷नभएका बारेमा सम्बन्धित मन्त्रालयका मन्त्री वा सचिवलाई बैठकमा आमन्त्रण गरी जवाफ माग्नुपर्ने बताउनुभयो ।

सदस्य विमला पौडेलले निर्देशन कार्यान्वयन सम्बन्धमा अनुगमन गर्दै बजार अनुगमनलाई पूर्णता दिनुपर्नेमा जोड दिनुभयो । सदस्य कालीबहादुर मल्ल र खिमकुमार विकले बजार अनुगमनसँगै छड्के अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

सदस्य कमलाकुमारी ओलीले पछिल्लो समयमा यातायात क्षेत्रमा समस्या बढ्दै गएकाले समाधानका लागि अनुगमनपछि मन्त्रालयलाई निर्देशन दिनुपर्ने बताउनुभयो । सदस्य महेशकुमार महरा, भैरवसुन्दर श्रेष्ठ, मुक्ताकुमारी यादव, कविता बोगटीलगायतले सरकारले राष्ट्रियसभाअन्तर्गतको दिगो विकास समितिको निर्देशन किन मान्दैन भनी प्रश्न गर्नुभयो । सभापति तारादेवी भट्टले समितिले दिएका निर्देशन कार्यान्वयन भए/नभएको बारे सम्बन्धित मन्त्रालयसँग जवाफ मागिने बताउनुभयो । (रासस)

तपाईको प्रतिक्रिया