पश्चिममा वर्षा र हिमपातको सम्भावना

  पुष २८, २०७६

काठमाडौं, २८ पुस : पश्चिमी न्यून चापीय वायुको प्रभावले सोमबार अपराह्नबाट देशको पश्चिमी भू–भागका अधिकांश स्थानमा बदली भई उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मङ्गलबार रातिबाट उक्त पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुने र मौसममा सुधार हुने बताइएको छ । मौसमी प्रणालीमा छिटो–छिटो परिवर्तन आएका कारण केही दिन मौसम सफा हुने र फेरि बदलीसहित वर्षा तथा हिमपात हुने प्रवृत्ति दोहोरिएको मौमसविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

“कुनै वर्ष बर्खायाममा बढी सुख्खा भयो भने हिउँदमा बढी वर्षा हुन्छ”, मौसमविद् मानन्धरले भन्नुभयो । आज विकसित हुने मौसमी प्रणाली पश्चिमी भूभागमै भित्रिएर पश्चिमबाटै बाहिरिने र अन्य भूभागमा त्यसको प्रभाव नपर्ने जनाइएको छ ।

मङ्गलबार देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य पहाडी भूभागमा आंशिक बदली हुने बताइएको छ । माघ १ गते देशका पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सफा रहने जनाइएको छ । (रासस)

तपाईको प्रतिक्रिया