अब प्रदेशसभा बैठक ‘यु ट्युब’मा

  पुष २७, २०७६

धनगढी, २७ पुस : यहाँस्थित सुदूरपश्चिम प्रदेशसभा भवनमा हुने प्रदेशसभा बैठक सञ्चालनका गतिविधि अब ‘यु ट्युब’मार्फत सुन्न र हेर्न सकिने भएको छ । प्रदेशसभाको पाँचौँ अधिवेशन बैठक आउँदो माघ ६ गते आह्वान भएका सन्दर्भमा हालसम्म भए गरेका कार्यबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सभामुख अर्जुनबहादुर थापाले आवश्यकताअनुसार ‘यु ट्युब लाइभ’ को व्यवस्थामार्फत प्रदेशसभा बैठक सञ्चालनका गतिविधिको प्रत्यक्ष प्रसारणका लागि यो प्रविधि जडान गरिएको जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशसभाको यु ट्युबमार्फत वेभसाइड लग इन गरी सुन्न र हेर्न सकिने जनाइएको छ । यसअघि प्रदेशसभाको बैठकका गतिविधिको अडियोको रेकर्ड मात्र हुने गरेको थियो । प्रदेशका सबै नौवटै जिल्लामा प्रदेशसभाको सम्बन्ध स्थापना गर्नमा टेवा पु¥याउन, संसदीय गतिविधि जनतासमक्ष पु¥याइ सूचना आदानप्रदानका लागि प्रदेशसभाका साथै प्रत्येक जिल्लाका जिल्ला समन्वय समिति कार्यालयमा ‘भिडियो कन्फ्रेन्स’ समेत जडान गरिएको छ ।

प्रदेशसभा बैठकद्वारा भए गरेका गतिविधिको सूचना सम्प्रेषण गर्नमा सहजता ल्याउन ‘मिडिया सेन्टर’स्थापनाका साथै प्रदेशसभा सदस्य बस्ने टेबलमा ‘डिजिटल माइक’को व्यवस्था र प्रदेशसभाको ‘रेकर्डिङ सिस्टम’को स्तरोन्नति गरिएको छ ।

यसैगरी प्रदेशसभा भवनको परिसरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय जनता पार्टीको संसदीय दलको कार्यालय भवनको निर्माण पूरा भएको छ । प्रदेशसभाको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका लागि साविकमा सो दलको कार्यालय रहेको भवनलाई व्यवस्थित गरिएको छ । आगामी दिनमा प्रदेशसभाका विषयगत समितिको बैठक कक्ष निर्माण ई–लाइब्रेरी स्थापना, आवश्यक ठाउँमा सिसीटिभी क्यामरा जडानलगायतका कार्य गर्ने लक्ष्य प्रदेशसभा सचिवालयको छ । (रासस)

तपाईको प्रतिक्रिया