सुन प्रतितोला ४ सय रुपैयाँले बढ्यो

  पुष २७, २०७६

काठमाडौं, २७ पुस : निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ४०० ले वृद्धि भएको छ ।

महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ७०० तोकेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला रु ९०० ले घटेको थियो । शुक्रबार छापावाला सुन प्रतितोला रु ७४ हजार ६०० र तेजाबी सुन प्रतितोला रु ७४ हजार ३०० मा खरिदबिक्री भएको थियो ।

पहेँलो धातुको मूल्य बढेसँगै चाँदीको मूल्य पनि प्रतितोला रु पाँचले वृद्धि भएको छ । महासङ्घले आजका लागि चाँदीको मूल्य प्रतितोला रु ८९० तोकेको छ । पछिल्लो समय विकसित इरान–अमेरिका तनाव, चीन–अमेरिका व्यापार युद्धका कारण विश्व बजारमा सुनको मूल्यमा उतारचढाव देखिँदै आएको छ । (रासस)

तपाईको प्रतिक्रिया