जाजरकोट–डोल्पा सडकमा पाँच बेलिब्रिज बन्दै

  पुष २७, २०७६

डोल्पा, २७ पुष : जाजरकोट–डोल्पा सडकखण्डमा पाँचवटा बेलिब्रिज पुल बन्ने भएका छन् । यस सडकखण्डअन्तर्गत पर्ने ठूलोभेरी नदीमा दुई र अन्य साना खोलाहरूमा तीन गरेर पाँचवटा बेलिब्रिज बन्ने भएका हुन् ।

पाँचैवटा बेलिब्रिज पुलको निर्माण आगामी असोजभित्रै निर्माण गर्ने सडक विभागले जनाएको छ । पाँचवटा बेलिब्रिज पुलमध्ये चारवटा त्रिपुरासुन्दरी नगरपालिका र एउटा ठूलीभेरी नगरपालिकामा बन्ने भएका छन् । गत मङ्सिरमा मात्रै प्रारम्भिक सर्वे सम्पन्न भएर पनि पाँचवटै पुलको अन्तिम सर्वे सम्पन्न भइसकेकाले पुल निर्माण प्रक्रिया शुरु भइसकेको सडक विभागले जनाएको छ ।

त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने करोपगाड खोला, खदाङ्गको हरियापानीस्थित ठूलीभेरी नदी, त्रिपुराकोटको छलगाड खोला, त्रिपुराकोट बगरस्थित ठूलीभेरी नदी र ठूलीभेरी नगरपालिकामा पर्ने रुपगाड खोलामाथि बेलिब्रिज बनाइने छ । सडक विभागका इन्जिनीयर रोशन केजुवाल र बिएनबी कन्सल्टेन्सीका प्रतिनिधि सौरभ शाहको टोली बेलिब्रिज पुलको अन्तिम नक्साङ्कन गरी फर्किएको छ ।

उक्त टोलीले जाजरकोटदेखि डोल्पाको रुपगाडसम्म निर्माण गर्नुपर्ने बेलिब्रिज पुलको अन्तिम डिजाइन सम्पन्न गरेर काठमाडाँै फर्किएको हो । बेलिब्रिज पुलको अन्तिम नक्साङ्कन गर्ने कार्य सम्पन्न भइसकेकाले काठमाडौंमा पुगेर सबै प्राविधिक कार्य एक महिनाभित्र सम्पन्न गर्ने बताइएको छ ।

प्राविधिक कार्य सम्पन्न भएलगत्तै बिएनबी कन्सल्टेन्सीमार्फत सडक विभागले बेलिब्रिज निर्माण गर्ने र कम्पनीलाई पाँचवटा पुल बनाउन झण्डै पाँच महिना लाग्ने सडक विभागका इन्जिनीयर रोशन इन्जिनीयर केजुवालले बताउनुभयो । करबगाड खोलादेखि रुपगाड खोलासम्म पाँचवटै बेलिब्रिज निर्माण भई जडान भएपछि रुकुम पश्चिम जिल्लामा पर्ने छरेबगरदेखि डोल्पा सदरमुकाम दुनैसम्म सिधा यातायात सेवा सञ्चालन हुनेछ । पाँचवटै बेलिब्रिजहरू २०७७ असोजसम्ममा जडान भई सञ्चालनमा आउने सडक विभागले जानकारी दिएको छ ।

बेलिब्रिज निर्माण डोल्पाली खुशी
डोल्पालीको भाग्यरेखासँग जोडिएको जाजरकोट–डोल्पा सडकखण्डको पाँच ठाउँमा एकैपटक बेलिब्रिज बन्ने भएपछि डोल्पाली जनता खुशी भएका छन् । जिल्ला सदरमुकाम दुनैबाट सिधै रुकुम पश्चिमको छरेबगरसम्म गाडी परिवर्तन नगरेरै सिधै यात्रा गर्न सकिने भएपछि डोल्पाली खुशी भएका हुन् ।

यसअघि दुनैदेखि तल्नुबगरसम्म पुग्नमात्रै तीनवटा गाडी परिवर्तन गर्नुपर्ने भएकाले यात्रुहरूले ठूलो हैरानी खेप्नु परेको थियो । “आजभोलि तल्नुबगर पुग्न तीनवटा गाडी परिवर्तन गर्नुपर्छ, भाडामा एकरुपता नहुँदा पैसा पनि धेरै खर्च हुन्छ भने घण्टाँै कुरेपछि मात्रै गाडी चढ्न पाइन्छ, बेलिब्रिज बनेपछि यस्तो समस्या हट्ने विश्वास छ”, त्रिपुरासुन्दरी नगरपालिकाका युवा लोकेश खत्रीले भन्नुभयो, “रुकुम पश्चिम र जाजरकोटको सीमावर्ती क्षेत्रमा पर्ने तल्नुबगर, जाजरकोटको नलगाड नदीमा पनि तत्काल बेलिब्रिज पुल निर्माण गर्न आवाश्यक छ ।”

यी दुई स्थानमा बेलिब्रिज पुल निर्माण गरिए काठमाडाँै नेपालगञ्जदेखि नै सिधा डोल्पासम्मको यात्रा गर्न सकिने उहाँले बताउनुभयो । स्याउ, ओखरलगायत स्थानीय उत्पादनहरूले बजार पाउने र पर्यटकहरूलाई आवागमन गर्न सहज हुने उहाँको भनाइ छ ।

पुल निर्माणसँगै जाजरकोट–डोल्पा सडकको स्तरोन्नति गराउने काम पनि अघि बढाउन डोल्पालीले सरकारलाई माग गरेका छन् । करीब ११८ किलोमिटर लामो जाजरकोट–डोल्पा सडकको ट्र्याक खोल्ने कार्य नेपाली सेनाले २०७५ मङ्सिर ४ गते सम्पन्न गरेको थियो । निर्माण गरेको एक वर्षपछि २०७६ कात्तिक २१ सडक विभागलाई जाजरकोट–डोल्पा सडक औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो । (रासस)

तपाईको प्रतिक्रिया