महोत्तरीका तीन औषधि पसलमा सिलबन्दी

  पुष २७, २०७६

महोत्तरी, पुस २६ (नागरिक)– औषधि व्यवस्था विभागले महोत्तरीको गौशालामा सञ्चालित तीनवटा औषधि पसलमा शनिबार सिलबन्दी गरेको छ । अनुगमन टोलीले गौशाला पोलिक्लिनिक, गौशाला सिटी हेल्थ केयर र दिव्य हेल्थ क्लिनिकमा सिलबन्दी गरिएको हो ।

औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जका फार्मेसी निरीक्षक डा. चन्देश्वर यादवको नेतृत्वमा गौशाला बजारस्थित औषधि पसलहरूमा अनुगमन गर्दा अव्यवस्थित, दर्ता नगरेको र फर्मासिस्टविना औषधि पसल पोलिक्लिनिकमा सञ्चालन गरेको पाइएपछि तीनवटा पसलमा सिलबन्दी गरिएको अनुमगन टोलीमा सहभागी फार्मेसी निरीक्षक दीपेन्द्रकुमार साहले जानकारी दिए ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको पुस २३ गते पद पुनर्बहाली भएलगत्तै औषधि पसलको अनुगमन निरीक्षण तीव्र पारिएको र निरन्तरता दिँदै अहिलेसम्म महोत्तरी र सिन्धुलीका ३० वटा औषधि पसलमा अनुगमन गरिएको साहले बताए ।

अनुगमनको क्रममा औषधि व्यवसायीले विनाफर्मासिस्ट पसल सञ्चालन गरेको, म्याद नाघेका औषधि सञ्चय गरेको र बिक्री गर्दा बिल नदिने गरेको पाइएको फार्मेसी निरीक्षक साहले जानकारी दिएका छन् ।

उनका अनुसार विभागले अनुगमन तीव्र पारेपछि सिन्धुली र महोत्तरीका औषधि पसल सञ्चालक पसल बन्द गरी भागाभाग गरेका छन् । अनुगमनलाई अझै निरन्तरता दिँदै जाने सो विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया