नेपाल पर्यटक पठाउन चिट्ठा

  पुष २६, २०७६

काठमाडौं, २६ पुस : ‘नेपाल भ्रमण वर्ष २०२०’ मा विदेशी पर्यटक आकर्षित गर्न चिट्ठाको माध्यम अपनाइएको छ । नेपाल आयरल्याण्ड सोसाइटीको सहकार्यमा नेपाल पर्यटन बोर्ड र नेपाली दूतावास लन्डनले ‘भिजिट नेपाल २०२० युरोप लोटरी’ कार्यक्रम ल्याएका हुन् । 

लोटरीका मुख्य संयोजक तथा नेपाल आयरल्यान्ड सोसाइटीका अध्यक्ष दीपेशमान शाक्यले लोटरी कार्यक्रमको मुख्य उद्देश्य युरोपमा रहेका नेपाली रेष्टुरेन्टहरूलाई पर्यटन प्रवर्द्धन केन्द्र बनाउनु र त्यसमार्फत भ्रमण वर्ष २०२० अभियानको प्रचार गर्नु रहेको बताए ।

‘यो लोटरी कार्यक्रम २०२० मा २० लाख पर्यटक पठाउने लक्ष्यमा योगदान पुर्‍याउन युरोपमा सम्भावित पर्यटकहरूसम्म पुग्ने प्रयास हो’, शाक्यले भने, ‘युरोपभरि ७ सयभन्दा बढी नेपाली रेस्टुरेन्ट रहेको अनुमान छ, जसमा वार्षिक करिब १० लाख ग्राहक पुग्छन् । यी रेस्टुरेन्टमा जाने ग्राहक नेपालप्रति माया र स्नेह राख्छन् । उनीहरू नेपालमा छुट्टीमा जाने सम्भावना बढी हुन्छ ।’

आयरल्यान्डको डब्लिनमा हालै आयोजित ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान उद्घाटनका अवसरमा लोटरी विजेताहरूको नाम घोषणा पनि गरियो । पहिलो पुरस्कार आयरल्यान्डकी मरिया हेफेर्ननले प्राप्त गरेकी छन् भने दोस्रो, तेस्रो र चौथो पुरस्कार क्रमश: तोबिअस मुल्लर (जर्मनी), पेराउड बेनोइत (फ्रान्स) र रचेल लिभेट (बेलायत) ले जिते ।

पहिलो पुरस्कार विजेताले युरोपबाट नेपाल जानआउन २ वटा टिकट, काठमाडौंका प्रख्यात रेस्टुरेन्टका नि:शुल्क भौचर र नेपालका शीर्ष श्रेणीका होटलमा १४ रात नि:शुल्क आवास सुविधा व्यवस्था गरिएको छ । त्यस्तै, अन्य विजेताहरूले नेपालका विभिन्न शीर्ष श्रेणीका होटलहरूमा नि:शुल्क आवास पाउनेछन् ।

शाक्यका अनुसार अनलाइन सबमिसन र युरोपमा रहेका विभिन्न नेपाली रेस्टुरेन्ट र आयरल्यान्डमा आयोजना गरिएका विभिन्न कार्यक्रमबाट कुल १० हजार ३४१ जना ‘लक्की ड्र’ मा प्रवेश गरेका थिए । यसका माध्यमबाट सन् २०२० मा नेपाल जान आमन्त्रित गर्ने सन्देशसहित सोसल मिडियामार्फत दुई लाखभन्दा बढी युरोपियनसम्म पुग्न सफल भएको आयोजकको दाबी छ । स्रोत : इकान्तिपुर

तपाईको प्रतिक्रिया